Aamsanchar

प्रहरी जाँचबाट बाँच्न पोखरीमा हामफालेका किशोर मृत भेटिए, भेडियारीमा प्रदर्शन

Author Image
शुक्रवार, असार २६, २०८३

मोरङ-  विराटनगर महानगरपालिका–१८, भेडियारीमा मृतक किशोरको शव उठाउने क्रममा शुक्रबार केहीबेर तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीले शव उठाउन अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कविता कटवालले विराटनगर–१८, भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादवको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षण (पोस्टमार्टम) का लागि कोसी अस्पताल लैजान खोज्दा स्थानीयवासी र आफन्तले अवरोध गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनकारीले दोषी प्रहरीमाथि कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै शव उठाउन नदिएपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुपरेको हो ।

स्थिति नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीले १० र सशस्त्र प्रहरी बलले ११ गरी जम्मा २१ सेल अश्रुग्यास प्रहार गरेका थिए । प्रदर्शनका क्रममा भएको ढुङ्गामुढाबाट सशस्त्र प्रहरीका निरीक्षक तारानाथ गौतम र नेपाल प्रहरीका जवान दिलीप आचार्य सामान्य घाइते हुनुभएको छ । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनस्थलमा अवाञ्छित गतिविधि गरेको आरोपमा जहदा गाउँपालिका–१ निवासी २१ वर्षीय राजदीप यादवलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको एसपी कटवालले बताउनुभयो । मञ्जितकुमार यादवको शव शुक्रबार बिहान स्थानीय पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । परीक्षणका लागि शव अहिले कोसी अस्पतालमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत बुधबार बिहान अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा हामफालेका थिए । उक्त मोटरसाइकलको पछाडि सवार भारतको सुपौल जिल्ला, गनौरा पञ्चायत–५ निवासी ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले सोही बेला पक्राउ गरेको थियो । उहाँको साथबाट छ किलो १३० ग्राम गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

Views: 102

प्रतिक्रिया (०)