बिर्तामोड। नेतृत्व हस्तान्तरणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराख्दै रोटरी क्लब अफ बिर्तामोडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर शिक्षा र वातावरण संरक्षणको सशक्त सन्देश दिएको छ।
क्लबको सन् २०२६र०२७ कार्यकालका लागि आयोजित १७औँ पदहस्तान्तरण समारोहमा दुई जना आर्थिक रूपमा विपन्न विद्यार्थीको उच्च शिक्षासम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने घोषणा गर्दै शिक्षा क्षेत्रमा दीर्घकालीन सहयोगको प्रतिबद्धता जनाएको हो। साथै प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई मायाको चिनोका रूपमा पुस्तक प्रदान गरिएको थियो भने कार्यक्रममा सहभागी सबैलाई फलफूलका बिरुवा वितरण गरी वातावरण संरक्षणप्रति सचेतना फैलाउने प्रयास गरिएको थियो।
बिर्तामोडस्थित होटल द किङ्सवेरीमा सम्पन्न कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अनिता बास्कोटा र बिर्तामोड नगरपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत पुष्पा राजवंशीलाई छात्रवृत्ति प्रदान गरिएको हो। क्लबले उनीहरूको उच्च शिक्षासम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने जनाएको छ।
यसअघि सम्पन्न साधारणसभा तथा अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिले पदहस्तान्तरणसँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटीले रोटरीको विधानअनुसार अध्यक्ष दीपक गिरीलाई पद हस्तान्तरण गरेका थिए।

नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, अध्यक्ष–निर्वाचित पार्वता खरेल बिमली, अध्यक्ष–मनोनीत आशा आचार्य, उपाध्यक्ष केदार गिरी र डा। सन्ध्या राठी, सचिव शैलेन्द्र कुरुङबाङ, कोषाध्यक्ष आमोद आचार्य, प्रशासन निर्देशक निकिता गिरी, सदस्यता निर्देशक पवन खेडिया, सेवा परियोजना निर्देशक सुरेश वंशल, सार्वजनिक छवि निर्देशक सीए सुशील अग्रवाल, रोटरी फाउन्डेसन निर्देशक ओमकृष्ण बिमली, युवा सेवा निर्देशक सुमित्रा भट्टराई तथा अनुशासन तथा व्यवस्था संयोजक अशोक धानुका रहेका छन्।
समारोहका प्रमुख अतिथि रोटरीका डिस्ट्रिक्ट पूर्व गभर्नर जितेन्द्र राजभण्डारीले अध्यक्ष दीपक गिरीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। त्यसपछि अध्यक्ष गिरीले अन्य पदाधिकारीलाई शपथ गराएका थिए।
कार्यक्रममा डा। सन्ध्या राठीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालन सचिव शैलेन्द्र कुरुङबाङले गरेका थिए।
पदहस्तान्तरणसँगै छात्रवृत्ति, पुस्तक उपहार र फलफूलका बिरुवा वितरणजस्ता सामाजिक अभियान सञ्चालन गरेर रोटरी क्लब अफ बिर्तामोडले नेतृत्व परिवर्तनसँगै समाजप्रतिको उत्तरदायित्व पनि उत्तिकै महत्त्वपूर्ण रहेको सन्देश दिएको छ।


