अर्जुनधारा । स्थानीय तहमा राजनीतिक दल फरक हुनु लोकतान्त्रिक व्यवस्थाको स्वाभाविक विशेषता हो। विचार, नीति र प्राथमिकतामा भिन्नता भए पनि जनहित र विकासलाई साझा लक्ष्य बनाएर अघि बढ्न सकिन्छ भन्ने उदाहरण झापाको अर्जुनधारा नगरपालिकाले प्रस्तुत गरेको छ।
अर्जुनधारा नगरपालिकामा नगर प्रमुख र उपप्रमुख नेकपा (एमाले) बाट निर्वाचित भए पनि नगरका ११ वडामध्ये सात वडाध्यक्ष नेपाली कांग्रेस र चार वडाध्यक्ष एमालेबाट निर्वाचित छन्। फरक राजनीतिक पृष्ठभूमिका जनप्रतिनिधिहरू भए पनि नगरको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई साझा एजेन्डा बनाउँदै सहकार्यको अभ्यास गर्दै आएका छन्।
नगर प्रमुख बलदेवसिंह गोम्देन र उपप्रमुख खड्गमाया पराजुली एमालेबाट निर्वाचित हुन्। वडाध्यक्षहरूमा वडा नं. १ का उपेन्द्र बस्नेत, वडा नं. २ का नरेन्द्रकुमार श्रेष्ठ, वडा नं. ३ का सिताराम भट्टराई, वडा नं. ४ का अम्बरबहादुर कटुवाल, वडा नं. ५ का गीताराज खड्का, वडा नं. ६ का हरिशचन्द्र बास्तोला र वडा नं. ९ का भीष्म मिश्र नेपाली कांग्रेसबाट निर्वाचित भएका छन्। वडा नं. ७ का गोविन्दप्रसाद खतिवडा, वडा नं. ८ का कुमारप्रसाद उप्रेती, वडा नं. १० का भूपेन्द्र न्यौपाने तथा वडा नं. ११ का खगेन्द्र इङनाम एमालेबाट निर्वाचित भएका हुन्।
राजनीतिक संरचना मिश्रित भए पनि नगरसभा र कार्यपालिका बैठकमा अधिकांश महत्वपूर्ण निर्णयहरू सहमतिका आधारमा हुँदै आएका छन्। विकास निर्माण, बजेट विनियोजन, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन तथा पूर्वाधार विकासका योजनामा दलगत स्वार्थभन्दा नगरवासीको हितलाई प्राथमिकता दिइएको जनप्रतिनिधिहरू बताउँछन्।

नगर प्रमुख गोम्देनका अनुसार विकासका सवालमा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिइएको छ। साझा सोच र समन्वयका कारण योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छन् भने सेवाप्रवाह पनि थप सहज र नागरिकमैत्री बनेको छ।
नगरपालिकाले सेवा प्रवाहमा सुधार, नागरिकका गुनासोको छिटो सम्बोधन र विकास योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ। यसले नगरवासीमा स्थानीय सरकारप्रति विश्वास बढाएको छ भने जनप्रतिनिधिहरूबीचको समन्वयले अपनत्वको भावना पनि मजबुत बनाएको देखिन्छ।
स्थानीय सरकारको सफलता केवल राजनीतिक बहुमतले मात्र होइन, सहकार्य, संवाद र साझा प्रतिबद्धताले पनि निर्धारण हुन्छ भन्ने सन्देश अर्जुनधारा नगरपालिकाको अभ्यासले दिएको छ। फरक दलका जनप्रतिनिधिहरू एउटै उद्देश्यका साथ अघि बढ्दा विकासले गति लिने, सुशासन सुदृढ हुने र नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने उदाहरणका रूपमा अर्जुनधारालाई लिन सकिन्छ।
अर्जुनधाराको यो अभ्यास स्थानीय तहमा राजनीतिक प्रतिस्पर्धासँगै सहकार्य पनि सम्भव छ भन्ने सकारात्मक सन्देश दिने सफल नमुनाका रूपमा स्थापित हुँदै गएको छ।


