Aamsanchar

दाङमा गुलियो मकैको खेति परिक्षण

Author Image
शनिवार, साउन २, २०८३

तुलसीपुर –  दाङमा स्वीट कर्न (गुलियो मकै) को व्यावसायिक खेतीको सम्भावना खोज्न परीक्षण खेती थालिएको छ।

तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रले परीक्षणका रूपमा खेती थालेको हो। केन्द्रले गत वैशाख र जेठमा दुई चरणमा रोपेको स्वीट कर्नले छोटो समयमै उत्पादन दिन थालेपछि यसको व्यावसायिक सम्भावना देखिएको जनाएको छ।

केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार रासायनिक मल प्रयोग नगरी पिना ९खली० मात्र प्रयोग गरेर पनि राम्रो उत्पादन भएको छ।

उनका अनुसार एउटै बोटमा दुईदेखि तीनवटासम्म घोगा लागेको छ। अब यसैको बीउ उत्पादन गर्ने तयारी भइरहेको छ। बीउ उत्पादन सफल भए किसानको आयआर्जन बढाउन यो खेती प्रभावकारी हुने उनको विश्वास छ।

उनका अनुसार स्वीट कर्नको उत्पादन अवधि छोटो, बजार मूल्य राम्रो र वर्षमा दुईपटकसम्म खेती गर्न सकिने भएकाले किसानलाई आर्थिक रूपमा लाभ पुग्नेछ। उनले अन्य किसानले युरिया प्रयोग गर्दा अपेक्षित उत्पादन नपाएको तर केन्द्रमा जैविक विधिबाट राम्रो नतिजा आएको बताए।

केन्द्रले एक सय ग्राम बीउ ल्याएर परीक्षण थालेको हो। यो मकै हरियो तथा दूधे अवस्थामा नै खाने भएकाले पूर्ण रूपमा पाकेपछि बीउ उत्पादन सम्भव हुन्छ वा हुँदैन भन्ने विषयमा अझै परीक्षण हुन बाँकी रहेको उनले बताए। उनले चिनियाँ कम्पनीसँग तुलसीपुर क्षेत्रमा यही मकैको खेती गर्ने बारेमा कुरा भइरहेको पनि बताए।

उनले भने, ‘यदि त्यो सहकार्य सफल भए तुलसीपुर क्षेत्रमा करिब एक सय बिघा क्षेत्रफलमा स्वीट कर्नको व्यावसायिक खेती विस्तार गर्ने लक्ष्य रहेको छ।’

स्वीट कर्न सामान्य मकैभन्दा नरम, स्वादिलो र पोषणयुक्त मानिन्छ। यसलाई उसिनेर, सलाद, सुप तथा विभिन्न परिकारमा प्रयोग गरिने भएकाले होटल तथा रेस्टुराँमा यसको माग उच्च छ।

परम्परागत मकैभन्दा यसको बजार मूल्य पनि राम्रो हुने भएकाले किसानले कम समयमा आकर्षक आम्दानी गर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

कृषि ज्ञानकेन्द्र दाङले भने जिल्लामा केही किसानले व्यक्तिगत उपभोगका लागि छिटफुट रूपमा स्वीट कर्न लगाए पनि व्यावसायिक खेती हालसम्म नभएको जनाएको छ। कृषि ज्ञानकेन्द्र दाङकी सूचना अधिकारी आशा भण्डारीका अनुसार किसानले व्यावसायिक रूपमा स्वीट कर्न खेती गर्न चाहे प्राविधिक सहयोग उपलब्ध गराइनेछ।

उनका अनुसार बंगलाचुली गाउँपालिकाबाहेक जिल्लाका अधिकांश स्थानीय तहमा यसको राम्रो सम्भावना रहेको छ। उनका अनुसार दाङमा वसन्ते र बर्खे दुवै मौसममा मकै खेती हुने गरेको र विशेषगरी देउखुरी क्षेत्रमा वसन्ते मकै बढी खेती हुने गरेको छ।

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर