Aamsanchar

झापामा सवारी दुर्घटना र ट्राफिक नियम उल्लङ्घन उच्च

Author Image
शनिवार, साउन २, २०८३

झापा । झापामा सवारी दुर्घटना र ट्राफिक नियम उल्लङ्घनको अवस्था उच्च देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/०८३ को तथ्याङ्कअनुसार जिल्लामा एक वर्षको अवधिमा १ हजार ५ सय ११ वटा सवारी दुर्घटना भएका छन्।

दुर्घटनामा परी ७७ जनाले ज्यान गुमाएका छन् भने १११ जना गम्भीर घाइते भएका छन्। त्यस्तै, २ हजार ४ सय ६४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनासँगै ट्राफिक नियम उल्लङ्घनका घटना पनि उच्च देखिएका छन्। गत आर्थिक वर्षमा झापामा २४ हजार ६ सय ८० वटा सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीबाट जिल्ला ट्राफिक प्रहरीले २ करोड ४३ लाख ७४ हजार ३४ रुपैयाँ राजस्व संकलन गरेको छ।

ट्राफिक नियम उल्लङ्घनको संख्या उच्च रहनुले जिल्लामा सडक अनुशासन र ट्राफिक नियम पालनाको अवस्था अझै चुनौतीपूर्ण रहेको देखाउँछ। सवारी चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा ट्राफिक नियमको बेवास्ता दुर्घटनाका प्रमुख कारणका रूपमा देखिँदै आएका छन्।

यसैबीच, ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जिल्लाभर ३ हजार ८ सय ३६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रमबाट ६७ हजार ५ सय ९३ जना लाभान्वित भएका छन्।

तर, ठूलो संख्यामा सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदाहुँदै पनि सवारी दुर्घटना र ट्राफिक नियम उल्लङ्घनको संख्या उच्च रहनुले केवल सचेतना कार्यक्रमले मात्र समस्या समाधान नहुने देखाएको छ। सडक सुरक्षा नियमको कडाइका साथ कार्यान्वयन, नियमित अनुगमन र चालक तथा यात्रुमा जिम्मेवार व्यवहार विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर