Aamsanchar

सिड्नीमा पहिलोपटक हुँदै ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६’

Author Image
बिहिवार, साउन ७, २०८३

सिड्नी । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय विस्तारसँगै ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६’ को नवौं संस्करण पहिलोपटक अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ।

आगामी १७ डिसेम्बर २०२६ मा हुने अवार्ड समारोहका लागि नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाबीच औपचारिक सम्झौता भएको छ।

सम्झौतामा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रतिनिधि एवं संयोजक सञ्जय खतिवडा र भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाका संस्थापक तथा आयोजक अरुण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सन् २०१८ देखि अमेरिकामा आयोजना हुँदै आएको अवार्डको आठौं संस्करणसम्मका कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन्। नेपाली चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, स्रष्टा तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आएको अवार्डले नेपाली कला, संस्कृति र विश्वभर फैलिएको नेपाली समुदायबीचको सम्बन्धलाई जोड्ने महत्वपूर्ण माध्यमका रूपमा आफूलाई स्थापित गर्दै आएको आयोजकको दाबी छ।

यसपटक भने अवार्ड समारोह पहिलोपटक अमेरिकाबाहिर आयोजना हुन लागेको हो। ठूलो नेपाली समुदायको उपस्थिति रहेको सिड्नीमा हुने कार्यक्रमले नेपाली चलचित्रलाई थप अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनुका साथै नेपाल र अष्ट्रेलियाबीचको कला तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष दिनेश पोखरेल, एससीसी एनएसडब्लु संयोजक उषाकिरण बरिया पोखरेल, भारा इन्टरटेनमेन्टका निर्देशक रुपेश भट्टराई, अवार्डका सल्लाहकार विजय सापकोटा, एएनसीका इभेन्ट संयोजक नवराज तिमल्सिना, प्रवक्ता सबला बस्नेत, जीएसएनएमसीका अध्यक्ष विष्णु हमाल, चलचित्र निर्माता रञ्जित शाह, वरिष्ठ सामुदायिक अगुवा महेन्द्र लम्साल र भूपाल सिटौला, वरिष्ठ पत्रकार हेमन्त काफ्ले तथा एनआरएनएका पूर्व सह–महासचिव राकेश जोशीलगायतको उपस्थिति थियो।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले भर्चुअल माध्यमबाट सहभागी हुँदै सिड्नीमा आयोजना हुने नवौं संस्करणले अवार्डको यात्रामा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरे।

आयोजकहरूले आगामी १७ डिसेम्बरमा सिड्नीमा हुने समारोहमा सहभागी हुन विश्वभरका नेपाली चलचित्रप्रेमी, कलाकार, स्रष्टा तथा नेपाली समुदायलाई निमन्त्रणा गरेका छन्।

Views: 57

प्रतिक्रिया (०)