बिर्तामोड । पत्रकारितामा दुई दशकदेखि सक्रिय पत्रकार चुडामणि तिम्सिना (सीएम) ‘देवकुमार आचार्य (डि. कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन्।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता इन्द्र आङ्वो ‘मौसम’ले तिम्सिनालाई ४२ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित पुरस्कार प्रदान गरे।
सोही अवसरमा स्वर्गीय देवकुमार आचार्य (डि. कौडिन्य) की धर्मपत्नी यमुना आचार्य र पुरस्कृत पत्रकार तिम्सिनाकी धर्मपत्नी सुनिता खरेल तिम्सिनालाई समेत सम्मान गरिएको थियो।
२०५८ सालको संकटकालमा क्याम्पसबाट प्रकाशित ‘क्रान्तिकारी आवाज’ भित्तेपत्रिकामार्फत पत्रकारिता सुरु गरेका तिम्सिना जनपक्षीय मुद्दा, श्रमजीवी पत्रकारिता र सामाजिक सरोकारका विषयमा निरन्तर सक्रिय छन्। उनी प्रेस सेन्टर नेपालका पूर्व कोशी प्रदेश सदस्य, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा प्रेस क्लब सुरुङ्गाका उपाध्यक्षसमेत हुन्।

तिम्सिनाको पत्रकारिता योगदानको मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिएको प्रेस सेन्टर नेपाल झापाले जनाएको छ।
पत्रकार तथा लेखक देवकुमार आचार्य ‘डि. कौडिन्य’को २०५९ साल साउन ७ गते तत्कालीन शाही नेपाली सेनाद्वारा चारआली ब्यारेकमा हत्या भएको थियो। उनको योगदानको स्मरणमा प्रेस सेन्टर नेपाल झापाले हरेक वर्ष साउन ७ गते यो पुरस्कार प्रदान गर्दै आएको छ ।
२०६३÷०६४ सालमा तत्कालीन क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष तारामणि सापकोटाको कार्यकालमा ५ हजार रुपैयाँ राशिबाट सुरु भएको पुरस्कारको राशि अहिले ४२ हजार रुपैयाँ पुगेको छ। तिम्सिनासँगै यो पुरस्कार प्राप्त गर्ने पत्रकारको संख्या १४ पुगेको छ।
यसअघि लीला बराल, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, विमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, झुलन रेग्मी, डिकेश लामा र उद्धव पुरी सम्मानित भइसकेका छन्।
कार्यक्रममा इन्द्र आङ्वो ‘मौसम’, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी, कोशी प्रदेश सञ्चार प्रतिष्ठानका सदस्य अर्जुन राजवंशी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी तथा नेपाली कम्युनिष्ट पार्टीका झापा संयोजक खड्ग तिम्सिना ‘पवन’लगायतले शुभकामना व्यक्त गरेका थिए।
वक्ताहरूले पत्रकारिता, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको सुदृढीकरणमा यस्ता पुरस्कारले पत्रकारलाई थप प्रेरणा दिने धारणा राखे।
प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्पलाल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले डि. कौडिन्यको जीवनी वाचन गरेका थिए। सहसचिव राजन साम्पाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश उप्रेतीले गरेका थिए।


