Aamsanchar

समाजसेवामा युवाको ऊर्जा : रोट्रयाक्ट बिर्तामोडको नेतृत्वमा श्रद्धा प्रसाई

Author Image
सोमवार, साउन ११, २०८३

बिर्तामोड । सकारात्मक सोच, ऊर्जा र सामाजिक उत्तरदायित्व बोकेका युवाहरूको समूह रोट्रयाक्ट क्लब अफ बिर्तामोडले नयाँ नेतृत्व पाएको छ। क्लबको १४औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम आइतबार बिर्तामोडमा सम्पन्न भएको हो।

कार्यक्रममा वर्ष २०२५/२६ को कार्यसमितिले आफ्नो एकवर्षे कार्यकाल पूरा गर्दै वर्ष २०२६/२७ का लागि श्रद्धा प्रसाई नेतृत्वको नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ। कार्यक्रममा नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका थिए।

निवर्तमान अध्यक्ष सुशील थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले आफ्नो कार्यकालमा क्लबले शिक्षा, स्वास्थ्य, समाजसेवा, युवा नेतृत्व विकास तथा सामुदायिक हितका क्षेत्रमा सञ्चालन गरेका विभिन्न गतिविधिको समीक्षा प्रस्तुत गरे। उनले क्लबको अभियानमा साथ दिने सदस्य, शुभेच्छुक तथा सहकार्य गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।

नवनिर्वाचित अध्यक्ष श्रद्धा प्रसाईले युवाहरूको ऊर्जा र क्षमतालाई समाजसेवासँग जोड्दै क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले समुदायको आवश्यकता पहिचान गरी नवीन तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, युवाहरूलाई नेतृत्व विकासमा अग्रसर गराउने र मानवसेवाका अभियानलाई थप विस्तार गर्ने योजना सुनाइन्।

कार्यक्रममा बोल्ने वक्ताहरूले रोट्रयाक्ट क्लबले युवाहरूलाई केवल नेतृत्व विकासमा मात्र नभई सामाजिक उत्तरदायित्व र मानवसेवाको भावनासँग जोड्दै आएको बताए। सकारात्मक सोच भएका युवाहरू संगठित भएर समाजका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउँदै अरूलाई समेत सामाजिक सेवाका लागि प्रेरित गर्नु क्लबको महत्वपूर्ण उपलब्धि भएको उनीहरूको भनाइ थियो।

रोट्रयाक्ट क्लब अफ बिर्तामोडले विगतदेखि नै शिक्षा, स्वास्थ्य, विपन्न तथा आवश्यकतामा रहेका समुदायको सहयोग, सचेतना र सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्वले क्लबका यस्ता अभियानलाई निरन्तरता दिँदै युवाको सक्रिय सहभागितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर