Aamsanchar

हरित अभियानमा एकजुट रोटरी क्लबहरू, जैविक विविधता संरक्षणमा जोड

Author Image
मङ्गलवार, साउन १२, २०८३

बिर्तामोड। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा तापक्रम बढ्दै गएको छ। यसको असर नेपालमा पनि स्पष्ट देखिन थालेको छ। अनियमित वर्षा, अत्यधिक गर्मी, खडेरी तथा प्राकृतिक विपद्का घटनाहरू बढ्दै जाँदा वातावरण संरक्षण र हरियाली विस्तार आजको प्रमुख आवश्यकता बनेको छ। यही आवश्यकतालाई आत्मसात गर्दै रोटरी अभियानले वृक्षारोपणलाई प्राथमिकतामा राखेर वातावरण संरक्षणको सशक्त अभियान सञ्चालन गरिरहेको छ।

रोटरी डिष्ट्रिक ३२९२ ले चालु वर्षभरि एक लाख बिरुवा रोप्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। सोही अभियानलाई सफल बनाउन रोटरी क्लब अफ बिर्तामोडले नयाँ कार्यसमिति गठनपश्चात वातावरण संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै मंगलबार १,५०० वटा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेको छ।

अर्जुनधारा नगरपालिका–२ स्थित शान्ति सामुदायिक वन क्षेत्रको गुन्द्रुकेमा रहेको पोखरी आसपासको क्षेत्रमा गरिएको वृक्षारोपण कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गा, भद्रपुर, काँकडभिट्टा, मेचीनगर, रोट्रयाक्ट क्लब अफ बिर्तामोड तथा अर्जुनधारा नगरपालिकाको सहकार्य र सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले वातावरण संरक्षण केवल सरकारी दायित्व नभई हरेक नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरे। उहाँले यस्ता वृक्षारोपण अभियानले हरियाली विस्तारसँगै जैविक विविधताको संरक्षण, जलस्रोतको संरक्षण तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष दीपक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र कोइराला, रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष अर्जुन बोहोरा तथा रोटरी क्लब अफ काँकडभिट्टाकी अध्यक्ष लक्ष्मीदेवी खनियाले पनि वातावरण संरक्षणका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याउँदै वृक्षारोपणलाई निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका संयोजक तथा एजी नवीन गट्टानीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन रोटरी क्लब अफ बिर्तामोडका सचिव शैलेन्द्र कुरुङवाङले गरेका थिए।

वृक्षारोपणजस्ता अभियानले जलवायु परिवर्तनको असर न्यूनीकरण, हरित वातावरणको विस्तार, वन्यजन्तुका लागि अनुकूल बासस्थानको संरक्षण तथा स्थानीय समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर