“गुरूब्र्रह्मा गुरूर्विष्णुः गुरूर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः।।“
सनातन वैदिक परम्परामा गुरुको स्थान सर्वोच्च मानिएको छ। गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइनन्, अज्ञानरूपी अन्धकार हटाई ज्ञान, विवेक, संस्कार र सत्यको मार्गमा डो¥याउने दिव्य शक्ति हुन्। त्यसैले गुरुको सम्मानलाई भगवानको सम्मानसरह मानिएको छ।
आज मनाइने गुरु पूर्णिमा वा व्यास पूर्णिमा महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा मनाइन्छ। महाभारतका रचयिता तथा वेदहरूको विभाजन गरी मानव समाजलाई ज्ञानको अमूल्य सम्पदा प्रदान गर्ने वेदव्यासप्रति श्रद्धा व्यक्त गर्ने दिन भएकाले यसलाई व्यास पूर्णिमा पनि भनिन्छ।
हाम्रो जीवनको पहिलो गुरु जन्मदाता आमाबुवा हुन्। उनीहरूले नै बोल्न, हिँड्न, संस्कार सिक्न र जीवनका आधारभूत मूल्यहरू बुझ्न सिकाउनुहुन्छ। त्यसपछि कुलपुरोहित, मन्त्रगुरु, कर्मगुरु तथा विद्यालय–महाविद्यालयका शिक्षक–शिक्षिकाले औपचारिक र अनौपचारिक रूपमा शिक्षा प्रदान गर्दै हाम्रो व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुहुन्छ।

गुरुकुल परम्परादेखि आजको आधुनिक शिक्षासम्म गुरु–शिष्य सम्बन्धको महत्व कहिल्यै कम भएको छैन। समय बदलिएको छ, शिक्षणका माध्यम फेरिएका छन्, तर गुरुको भूमिका अझै उत्तिकै महान र अपरिहार्य छ। गुरुले दिएका आध्यात्मिक, धार्मिक, नैतिक, व्यावहारिक र वैज्ञानिक ज्ञानले व्यक्तिको जीवनलाई सही दिशा प्रदान गर्दछ।
गुरु निःस्वार्थ हुन्छन्। आफ्ना शिष्यको सफलताका लागि उनीहरू निरन्तर समर्पित रहन्छन्। शिष्यको क्षमता पहिचान गरी उसलाई जीवनका प्रत्येक चरणमा अघि बढ्न प्रेरित गर्छन्। गुरु कहिले अभिभावक, कहिले मार्गदर्शक, कहिले उत्प्रेरक त कहिले भविष्य निर्माण गर्ने शिल्पीका रूपमा प्रस्तुत हुन्छन्। माटोलाई सुन्दर मूर्तिमा ढाल्ने मूर्तिकारझैँ गुरुले आफ्ना शिष्यलाई योग्य, सक्षम र चरित्रवान नागरिक बनाउने अथक प्रयास गरिरहनुहुन्छ।
गुरुले शिष्यका कमजोरीलाई सुधार्ने अवसरका रूपमा लिनुहुन्छ। गल्तीमा सजायभन्दा बढी शिक्षा दिनुहुन्छ। कठिन बाटोलाई सहज बनाउँदै धैर्य, अनुशासन, सहिष्णुता, इमानदारी र कर्तव्यबोधको पाठ सिकाउनुहुन्छ। त्यसैले गुरुको योगदान कुनै पनि व्यक्तिको सफल जीवनको आधारशिला हो।
नेपालको तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा महर्षि वेदव्यासको प्रतिमा स्थापना गरिएको छ, जहाँ पुगेर धेरै श्रद्धालुले दर्शन गर्ने गरेका छन्। यसले हाम्रो सभ्यता, संस्कृति र गुरु परम्पराप्रतिको सम्मानलाई अझ सुदृढ बनाएको छ।
आजको दिन केवल औपचारिक रूपमा गुरुको सम्मान गर्ने दिन मात्र होइन, गुरुले दिएका शिक्षा, संस्कार र जीवनदर्शनलाई व्यवहारमा उतार्ने संकल्प गर्ने दिन पनि हो। गुरुको सम्मान वर्षमा एक दिनमा सीमित हुनु हुँदैन। वर्षका तीन सय पैंसठ्ठी दिन नै गुरुको योगदान सम्झने, उहाँप्रति कृतज्ञ रहने र उहाँले देखाएको मार्गमा अघि बढ्ने संस्कार विकसित गर्न आवश्यक छ।
गुरु विनाको शिक्षा अधुरो हुन्छ। गुरुको मार्गदर्शनले मात्र व्यक्तिले आफ्नो लक्ष्य, उद्देश्य, जिम्मेवारी र जीवनको वास्तविक अर्थ बुझ्न सक्छ। त्यसैले गुरुप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्नु प्रत्येक शिष्यको नैतिक कर्तव्य हो।
गुरु पूर्णिमाको यस पावन अवसरमा जन्मगुरु आमाबुवा, मन्त्रगुरु, कुलपुरोहित, कर्मगुरु तथा औपचारिक–अनौपचारिक रूपमा ज्ञान र सकारात्मक सोच प्रदान गर्ने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धाञ्जली, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु। सम्पूर्ण गुरुजनमा सुस्वास्थ्य, दीर्घायु र सुख–समृद्धिको कामना गर्दै सबैमा गुरु पूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्दछु।
– इन्द्र प्रसाद ओली
अध्यक्ष, राष्ट्रिय हिन्दु एकता मञ्च नेपाल
केन्द्रीय कार्यालय, भद्रपुर–७, चन्द्रगढी


