Aamsanchar

झापामा एक वर्षमा २४ हजार ८५१ जनाले लिए नागरिकता, करिब २५ हजारले बनाए राहदानी

Author Image
बिहिवार, साउन १४, २०८३

बिर्तामोड। गत आर्थिक वर्षमा झापा जिल्लाबाट २४ हजार ८५१ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय झापाका अनुसार नागरिकता प्राप्त गर्नेहरूमध्ये सबैभन्दा धेरै १५ हजार १६३ जनाले वंशजका आधारमा नागरिकता लिएका छन्।

त्यसैगरी ६४० जनाले वैवाहिक अंगीकृत, ८६४ जनाले अंगीकृत तथा ५७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्।

सेवा प्रवाहको विवरणअनुसार जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट १६ हजार ७२४, इलाका प्रशासन कार्यालय दमकबाट ५ हजार ४२१ र इलाका प्रशासन कार्यालय गौरिगञ्जबाट २ हजार ७०६ जनाले नागरिकता लिएका छन्।

यस्तै, नागरिकताको प्रतिलिपि (डुप्लिकेट) लिनेको संख्या २१ हजार २१ पुगेको छ। गत आर्थिक वर्षमा २४ हजार ४६६ जनाले राहदानी प्राप्त गरेका छन् भने जिल्ला प्रशासन तथा मातहतका कार्यालयबाट २६ हजार ९०९ वटा राहदानीका लागि सिफारिस गरिएको छ।

राष्ट्रिय परिचयपत्रतर्फ ९८ हजार ६८९ जनाले परिचयपत्र प्राप्त गरेका छन् भने ९७ हजार ४७७ जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत वर्ष गुनासो तथा ठाडो उजुरीसम्बन्धी ४७९ वटा निवेदन फर्छ्योट गरिएको छ। यस अवधिमा ९२९ वटा नाबालक परिचयपत्र वितरण गरिएको छ भने पारिवारिक पेन्सन तथा रहलपहलसम्बन्धी २४० वटा सिफारिस जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवाको तथ्यांकले जिल्ला प्रशासन कार्यालय झापाको सेवा प्रवाह प्रभावकारी र सन्तोषजनक रहेको देखाएको छ।

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर