बिर्तामोड । नेपाली युवा वैज्ञानिक डा. मिशाल पोखरेल जर्मनीस्थित प्रतिष्ठित अनुसन्धान संस्था BioMed X मा पोस्टडोक्टोरल अनुसन्धानकर्ताका रूपमा आबद्ध भएका छन्। #TeamNIB अन्तर्गत उनको यो नियुक्तिलाई नेपाली वैज्ञानिक समुदायका लागि अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ।
नेपालबाट सुरु भएको उनको वैज्ञानिक यात्रा भारत, बेलायत, अमेरिका हुँदै अहिले जर्मनीसम्म पुगेको हो। मानव शरीरसँग अझ प्रभावकारी रूपमा अन्तरक्रिया गर्न सक्ने जैविक सामग्री (Biomaterials) विकास गर्ने लक्ष्यसहित उनले लामो समयदेखि अनुसन्धान गर्दै आएका छन्।
डा. पोखरेलले भारतमा स्नातक अध्ययनका क्रममा बायोमेटेरियल्स क्षेत्रमा अनुसन्धान सुरु गरेका थिए। त्यसपछि बेलायतको University of Sheffield मा स्नातकोत्तर अध्ययन गर्दै इन्जिनियरिङ गरिएका स्काफोल्ड र स्टेम सेलबीचको अन्तरक्रियामाथि अनुसन्धान गरे।

नेपाल फर्किएपछि उनले अध्यापनसँगै स्थानीय स्रोत–साधनमा आधारित बायोमेडिकल अनुसन्धान विभाग स्थापना गरी अनुसन्धान संस्कृतिलाई अघि बढाए। त्यसपछि अमेरिकाको University of Massachusetts Dartmouth मा पीएचडी तथा पोस्टडोक्टोरल अनुसन्धान गर्दै औषधि वितरण प्रणाली (Drug Delivery Systems), पेप्टाइड–आधारित बायोमेटेरियल्स, पुनर्जनन चिकित्सा (Regenerative Medicine) र टिस्यु इन्जिनियरिङ क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।

अब जर्मनीको BioMed X मा उनले बहुविषयगत अनुसन्धानलाई प्रयोगशालाबाट प्रत्यक्ष उपचार र बिरामीको हितमा रूपान्तरण गर्ने उद्देश्यका साथ नयाँ जिम्मेवारी सम्हालेका छन्। जटिल जैविक प्रणालीको यथार्थपरक मोडलिङ र उपचारको प्रभावकारिताको विश्वसनीय पूर्वानुमान गर्न सक्ने प्रविधिको विकासमा उनको अनुसन्धान केन्द्रित रहने बताइएको छ।
डा. मिशाल पोखरेलको यो सफलता व्यक्तिगत उपलब्धिमात्र नभई विश्व वैज्ञानिक समुदायमा नेपाली प्रतिभाको क्षमता, मेहनत र सम्भावनालाई स्थापित गर्ने प्रेरणादायी उदाहरण बनेको छ। उनको यस उपलब्धिले विज्ञान तथा प्रविधिमा रुचि राख्ने नेपाली युवालाई अन्तर्राष्ट्रिय अनुसन्धान क्षेत्रमा अघि बढ्न थप प्रेरणा दिने विश्वास गरिएको छ। मिशाल पोखरेल झापा बिर्तामोड निवासी हुन् ।


