बिर्तामोड। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी २०८३ असोज १० गते हुने सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
निर्वाचन उपसमितिले आज शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार सञ्चालक समितितर्फ अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, कोषाध्यक्ष १ र सदस्य ५ (जसमध्ये ३३ प्रतिशत महिला अनिवार्य) पदका लागि निर्वाचन हुनेछ। त्यसैगरी लेखा सुपरिवेक्षण समितितर्फ संयोजक १ र सदस्य २ पदका लागि पनि निर्वाचन गरिने भएको छ।
प्रकाशित कार्यतालिकाअनुसार २०८३ जेठ २३ गते मतदाताको पहिलो नामावली प्रकाशन गरिनेछ। नामावलीमाथि दाबी–विरोध दर्ता जेठ २४ देखि ३० गतेसम्म गर्न सकिनेछ भने असार ६ गते अन्तिम मतदाता नामावली प्रकाशन निर्वाचन उपसमितिले गरिसकेको छ।
यसैगरी साउन ३० गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ। उम्मेदवारको प्रथम नामावली सोही दिन अपराह्न ४ बजे प्रकाशित गरिनेछ। उम्मेदवारमाथिको दाबी–विरोध साउन ३१ गते हुने, त्यसको छानबिन भदौ १ देखि ३ गतेसम्म गरिने र भदौ ४ गते दोस्रो नामावली प्रकाशन गरिने कार्यक्रम छ।

उम्मेदवारले अन्तिम नामावली प्रकास भदौ २२ गते नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन अन्तिम उम्मेदवार नामावली पनि प्रकाशित गरिनेछ।
निर्वाचन कार्यक्रमअनुसार असोज १० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतगणना सकिएलगत्तै निर्वाचन परिणाम घोषणा गरिने निर्वाचन उपसमितिले जनाएको छ।
उपसमितिले सम्बन्धित सेवाकेन्द्रका मतदाताले तोकिएको मतदान केन्द्रमै मतदान गर्नुपर्ने तथा आवश्यक परे निर्वाचन कार्यक्रम संशोधन गर्न सकिने जनाएको छ।



