Aamsanchar

धार्मिक सद्भाव, राष्ट्रिय एकता र दिगो शान्तिका लागि प्रार्थना गरौ

Author Image
आइतवार, साउन १७, २०८३

आज हाम्रो मातृभूमि अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ । यस्तो विषम घडीमा हामी, स्थानीय सरकारदेखि संघीय सरकारसम्मका सम्माननीय जनप्रतिनिधिज्यूहरू, विभिन्न आस्था र परम्पराका पूजनीय धर्मगुरुहरू, सुरक्षानिकायका आदरणीय अधिकारीहरू, न्यायका संरक्षकज्यूहरू, नागरिक समाजका अगुवाज्यूहरू, सञ्चारजगतका आदरणीय पत्रकारज्यूहरू, बुद्धिजीवीहरू, सामाजिक अभियन्ताहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई राष्ट्रिय उत्तरदायित्वको भावना र सद्भाव सहित एकताबद्ध हुन अति आवश्यक छ।

इतिहासका केही क्षणहरू यस्ता हुन्छन्, जहाँ मौन बस्नु पनि एउटा निर्णय हुन्छ । आज त्यही क्षण हाम्रो सामु खडा भएको छ । अहिले एकअर्कालाई दोषारोपण गर्ने समय हैन, समाधान खोज्ने समय हो, विभाजन बढाउने समय होइन, विश्वासलाई पुनःस्थापित गर्ने समय हो, आक्रोश फैलाउने समय होइन, आशा जगाउने समय हो। इतिहासले हाम्रो काँधमा सुम्पिएको नैतिक दायित्वलाई इमानदारीपूर्वक निर्वाह गर्दै सत्य, न्याय, शान्ति र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिनु आजको सबैभन्दा ठूलो आवश्यकता भएको छ।

जब निर्दोष नागरिकहरूको रगत बग्छ, आमाबुबाले आफ्ना सन्तान गुमाउँछन्, बालबालिकाले भविष्यप्रतिको भरोसा गुमाउँछन्, र समाज भय, असुरक्षा तथा अन्योलले आक्रान्त हुन्छ, त्यस्तो बेला सबैभन्दा शक्तिशाली आवाज कुनै हतियारको हुँदैन, यस्तोबेला शक्तिशाली, आवाज त प्रेमको आवाज हुन्छ, शान्तिको आवाज हुन्छ, विवेकको आवाज हुन्छ, र मानवताको पक्षमा बोल्ने अन्तरात्माको आवाज हुन्छ ।

आज कसैले आफ्नो प्रियजन गुमाएका छन्, कसैले आफ्नो घरबार, कसैले आफ्नो व्यवसाय, र धेरैले सुरक्षित भविष्यप्रतिको विश्वास नै गुमाएका छन्। यस्ता पीडादायी क्षणहरूमा यदि हामीले घृणाको उत्तर घृणाले, हिंसाको उत्तर हिंसाले र प्रतिशोधको उत्तर प्रतिशोधले दियौँ भने राष्ट्रको घाउ अझ गहिरो बन्छ । तर यदि हामीले प्रेम, क्षमा, संयम, सहिष्णुता र संवादलाई अँगाल्यौँ भने यही सद्भावले विग्रहका ज्वालाहरूलाई शान्त पार्न सक्छ।

धर्मको मूल उद्देश्य भनेको मानिसहरुलाई इश्वर, अल्लाह, परमेश्वरसँग जोड्नु, सत्य र धार्मिकताको मार्गमा डो¥याउनु, प्रेम, दया, करुणा र क्षमाको जीवन बाँच्न सिकाउनु हो। कुनै पनि सच्चा धर्मले निर्दोषको हत्या गर्न, घृणा फैलाउन वा प्रतिशोधलाई धर्मको नाम दिन सिकाउँदैन। जहाँ मानवता रोइरहेको हुन्छ, त्यहाँ सबै धर्मका सच्चा अनुयायीहरू मानवताको पक्षमा एउटै पङ्क्तिमा उभिनुपर्छ। यही नै धर्मको वास्तविक महिमा हो, यही नै आध्यात्मिकताको सर्वोच्च अभिव्यक्ति हो।

हामी सबैले पवित्र धर्मशास्त्रहरुकोे यो अमूल्य शिक्षालाई श्रद्धापूर्वक स्मरण गरौ।

यो वचन कुनै एउटा धर्म, समुदाय वा एउटा राष्ट्रका लागि मात्र होइन, शान्ति, सत्य, न्याय र मानव गरिमालाई प्रेम गर्ने सम्पूर्ण मानवजातिका लागि सार्वकालिन आह्वान हो। शान्ति भनेको युद्ध वा हिंसाको अन्त्य मात्र होइन, शान्ति भनेको न्यायको स्थापना, प्रत्येक व्यक्तिको सम्मानको संरक्षण, परस्पर विश्वासको पुनर्निर्माण र विविधताबीच प्रेमपूर्ण सहअस्तित्वको संस्कृति विकास हुनु हो।

यसैले आज हामी सम्पूर्ण नेपाली जनसमुदायलाई विनम्रतापूर्वक आह्वान गर्दछौँ, कुनै पनि अफवाह, उक्साहट, घृणा, धार्मिक असहिष्णुता वा हिंसात्मक मानसिकताको पछि नलागौँ। बरु सत्यको खोजी गरौँ, कानूनको सम्मान गरौँ, एक–अर्काको पीडालाई आफ्नै पीडा ठानौँ, र राष्ट्रको शान्ति, सद्भाव तथा समृद्धिका लागि हातेमालो गरौँ।

“राष्ट्र तब मात्र बलियो बन्छ, जब त्यसका नागरिकहरू आस्था फरक भए पनि हृदयले एउटै राष्ट्र, एउटै मानवता र एउटै शान्तिको पक्षमा उभिन्छन्।”

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर