
बुटवल – कपिलवस्तुमा जीपको ठक्करबाट एक युवकको मृत्यु भएको छ । एक महिला घाइते छिन् ।
शिवराज नगरपालिका–५, चन्द्रौटास्थित आलोक होटेलनजिक पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीप र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
शनिबार (साउन १६)लु.प्र.०१–००१ च २०५४ नम्बरको स्कारपियोले लु१४प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिवराज–२, हल्लानगरका १८ वर्षीय शिखर विक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा पुर्याइएको थियो । उपचारका क्रममा राति ११ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार शिवराज–२ कै २१ वर्षीया शोभा सिर्पाली घाइते भएकी छन् । रुपन्देहीको बुटवलस्थित चौराहा अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त दुई सवारीसाधन र स्कारपियोका चालक दाङको घोराही उपमहानगरपालिका–१५ का २६ वर्षीय केशव रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


