Aamsanchar

बुद्धशान्तिको सतीगौडा : नारीमाथिको क्रूरताको जिउँदो इतिहास

Author Image
आइतवार, साउन १७, २०८३

बिनोद पाण्डे
— विशेष रिपोर्ट

झापाको बुद्धशान्ति गाउँपालिकास्थित शान्तिनगरमा रहेको सतीगौडा टिमाई घाट मा आजभोलि खोला आफ्नै धुनमा सलल बगिरहन्छ। तर, यही शान्त किनारमा कुनै समय यस्तो अन्धकार युग थियो, जहाँ समाजको दबाब र निष्ठुरी प्रथाका कारण महिलाहरू जिउँदै अग्निकुण्डमा भस्म हुन्थे।

नेपालको इतिहासमा पुरुषप्रधान शासन व्यवस्था र अन्धविश्वासको पराकाष्ठा मानिने ’सती प्रथा’ को मौन साक्षी बनेर उभिएको छ— शान्तिनगर सतीगौडा।

सती शब्दको उत्पत्ति र यसको अर्थ
’सती’ नितान्त संस्कृत शब्द हो, जसको शाब्दिक अर्थ ’असल वा पवित्र पत्नी’ हुन्छ। धार्मिक पौराणिक कथा अनुसार देवी सतीले आफ्ना पिता दक्ष प्रजापतिले पति भगवान् शिवको अपमान गरेका कारण यज्ञको आगोमा फाल हालेर आत्मदाह गरेकी थिइन्।

यद्यपि, हिन्दू धर्मका अति प्राचीन ग्रन्थहरूमा सतीप्रथा बाध्यात्मक रहेको उल्लेख पाइँदैन। तर, कालान्तरमा मध्यकालीन र प्राचीन हिन्दू समाजमा—खासगरी शासक वर्ग र राजा–महाराजाहरूमा—मृतक पतिसँगै जीवित पत्नीलाई पनि चितामा जलाउने क्रूर परम्पराले संस्थागत रूप लियो।

इतिहासको कालो पाना र राजनीतिक दाउपेच
राजा–महाराजा वा भारदारको मृत्यु भएपछि उनीहरूका रानी तथा पत्नीहरूलाई मृतक श्रीमान्को शवसँगै वा अर्को चितामा सुताइन्थ्यो। यसलाई ’सतीधर्म’ को नाम दिएर बाध्य पारिन्थ्यो। इतिहासका पानाहरू पल्टाउँदा कुन रानीलाई सती पठाउने र कुनलाई नपठाउने भन्ने विषयमा समेत राजनीतिक दाउपेच र षड्यन्त्र हुने गरेको पाइन्छ।

मृतक श्रीमान्को चितामा जलाउनुअघि महिलाले दिने श्रापलाई ’सतीश्राप’ भनिन्थ्यो। भारतवर्षका गंगा, यमुना जस्ता ठूला नदीका घाटहरूमा जस्तै नेपालका बागमती, कोशी, नारायणी, गण्डकी, कर्णालीका साथै मोफसलका साना–ठूला नदी किनारहरू सती जाने थलो बनेका थिए। तिनैमध्येको एक जीवन्त प्रमाण हो— बुद्धशान्तिको टिमाई घाट।

“अहिलेको पुस्तालाई सुन्दा कहालीलाग्दो र पत्याउनै गाह्रो लाग्ने यो कथा इतिहासको त्यस्तो सत्य हो, जसको प्रमाण स्वरूप अझै पनि धेरै ठाउँमा सतीगौडा, सती जाने बाटो र सतीघाटहरू विद्यमान छन्।“

सुधारका प्रयास र कानुनको बाटो
नेपाल र भारत दुवैतर्फ व्याप्त यो प्रथालाई रोक्न समय–समयमा प्रयासहरू भएका थिए। भारतमा सन् १८६१ मा कानुनद्वारा यसलाई बन्देज लगाइएको थियो।

नेपालको सन्दर्भमाः

वि.सं. १९१० (मुलुकी ऐन): जङ्गबहादुर राणाले पहिलो पटक मुलुकी ऐन जारी गरी १६ वर्षमुनिका विधवा र ९ वर्षभन्दा साना सन्तान भएकी महिलालाई सती जान रोक लगाए। (यद्यपि, उनको मृत्यु हुँदा भने केही रानीहरूलाई सती पठाइएको ऐतिहासिक तथ्य छ।)

वि.सं. १९४४ असार १४ः श्री ३ वीरशमशेर जबराले गढी–गौँडाका हाकिमहरूलाई कडा निर्देशन जारी गरे। सती पठाउनुअघि अनिवार्य स्वीकृति लिनुपर्ने, महिलाको आफ्नै मन्जुरी चाहिने, छोराछोरी हुर्केको हुनुपर्ने र गर्भवती हुन नहुने जस्ता कडा नियमहरू लागू गरिए।

२५ असार १९७७ः एउटा युगको अन्त्य
यी तमाम आंशिक सुधारका बावजुद प्रथा पूर्ण रूपमा रोकिएको थिएन। अन्ततः वि.सं. १९७७ साल असार २५ गते तत्कालीन श्री ३ महाराज चन्द्र शमशेरले नेपालमा सती प्रथा पूर्ण रूपमा उन्मूलन भएको औपचारिक घोषणा गरे।

यस अमानवीय र क्रूर प्रथालाई कानुनी रूपमा सधैँका लागि बन्देज गराएकाले चन्द्र शमशेरलाई सती प्रथा अन्त्यका मुख्य नायक मानिन्छ।

चेतनाको प्रतीक बनेको ’सतीगौडा’
आज सती प्रथा अन्त्य भएको एक शताब्दीभन्दा बढी भइसकेको छ। तर, झापाको बुद्धशान्तिस्थित शान्तिनगर सतीगौडा (टिमाई घाट) ले आज पनि त्यो कालो युग र नारीमाथि भएको अत्याचारको कथा मौन रूपमा दोहो¥याइरहन्छ।

यी घाट र गौडाहरू केवल इतिहासका अवशेष मात्र होइनन्; यी त मानव सभ्यता, नारी अधिकार र समाजिक चेतनाका लागि कहिल्यै बिर्सन नहुने पाठ हुन्।

Views: 83

प्रतिक्रिया (०)