झापा, साउन १७। कोशी प्रदेश सरकारका कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारा निरौला र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकले झापा जिल्लास्थित कन्काई सिँचाइ प्रणालीको स्थलगत अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ, योजना आयोगका सदस्यहरू, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव पुष्कर पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्य, कन्काई सिँचाइ प्रणालीका डिभिजन प्रमुख उमेश सुजाखु लगायत सम्बन्धित निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
स्थलगत अनुगमनपछि कन्काई सिँचाइ प्रणालीको सभाकक्षमा आयोजित छलफल कार्यक्रममा सिँचाइ प्रणालीको समग्र अवस्था, सेवा प्रवाह तथा आगामी सुधारका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, कृषकलाई प्रभावकारी र भरपर्दो सिँचाइ सेवा उपलब्ध गराउने उद्देश्यले प्रणालीको संरक्षण, नियमित मर्मत–सम्भार तथा आवश्यक सुधारका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन विषयमा समेत छलफल गरिएको थियो।
कन्काई सिँचाइ प्रणालीले झापा जिल्लाका शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका तथा कमल गाउँपालिकाका कृषियोग्य क्षेत्रलाई सिँचाइ सुविधा प्रदान गर्दै आएको छ। उक्त प्रणालीले यस क्षेत्रको कृषि उत्पादन वृद्धि तथा कृषकको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।



