Aamsanchar

सुरुङ्गा जेसीज सप्ताह सुरु, वक्तृत्वकला प्रतियोगितामा दीपशिखा प्रथम

Author Image
सोमवार, साउन १८, २०८३

कनकाई । सुरुङ्गा जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२६ मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन कन्काई नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो।

सुरुङ्गा जेसीजकी अध्यक्ष मेनुका उप्रेती शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष (निरुपित क्षेत्र ‘क’) योगेश राजवंशी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा वक्तृत्कला कार्यक्रम संयोजक सुजाता अधिकारीले स्वागतगरेकी थिइन ।  जेसीज सप्ताह संयोजक रिसव सिंह चाहरले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका  थिए भने पूर्व अध्यक्षहरू कुमारमणि पोख्रेल, शिव कँडेल र जबिन तिम्सिनाले शुभकामना मन्तव्य राखेका थिए। सुस्मिता बास्तोलाले जेसीज आस्था तथा खुश्बू तिम्सिनाले जेसीजको मिसन–भिजन वाचन गरेकी थिइन्। कार्यक्रमको सञ्चालन महासचिव जेनिश चम्लागाईंले गरेका थिए।

प्रतियोगितामा कन्काई नगरपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयका १२ जना विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष तथा सञ्चारकर्मी स्वस्तिका आचार्य, चम्पापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र थापा र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री कार्की रहेका थिए।

प्रतियोगितामा पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालयकी दीपशिखा भेटवाल प्रथम, देवकोटा एजुकेशन फाउन्डेसनकी अनुष्का गुरागाईं द्वितीय तथा झापा म्यारिगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयका सर्जक तिम्सिना तृतीय भए।

विजयी प्रतियोगीहरूलाई नगद पुरस्कार, ट्रफी तथा मेडल प्रदान गरिएको आयोजकले जनाएको छ। सुरुङ्गा जेसीजले जेसीज सप्ताहअन्तर्गत आगामी दिनहरूमा सामाजिक, शैक्षिक तथा नेतृत्व विकाससँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर