काठमाडौं । नेपाल–चीनबीचका तीनवटै प्रमुख व्यापार नाका पछिल्ला केही सातादेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा उत्तरी छिमेकीसँगको व्यापार प्रभावित भएको छ। तीज, दशैं र तिहारजस्ता प्रमुख चाडपर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति र बजार व्यवस्थापनमा समेत चिन्ता बढेको छ।
भोटेकोशी क्षेत्रमा गएको पहिरोका कारण तातोपानी नाका जोड्ने अरनिको राजमार्ग अवरुद्ध छ। रसुवागढी नाकामा गत वर्षको बाढीले पुल बगाएपछि आयात–निर्यात अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन भने वर्षायामका कारण थप जोखिम कायम छ। कोरला नाकाबाट पनि सीमित मात्रामा मालसामान ओसारपसार भइरहेको छ।
गत आर्थिक वर्षमा तातोपानी र रसुवागढी नाकामार्फत मात्रै ९३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका सामान आयात भएका थिए। गत वर्षदेखि अन्तर्राष्ट्रिय व्यापारका लागि सञ्चालनमा आएको कोरला नाकाबाट पनि १४ अर्ब ४० करोड रुपैयाँ बराबरको आयात भएको थियो।
नेपाल ट्रान्स हिमालयन सीमा वाणिज्य संघका अनुसार बह्रबिसे–तातोपानी सडकखण्डमा विभिन्न स्थानमा पहिरो गएपछि करिब दुई सातादेखि यातायात पूर्ण रूपमा बन्द छ। यसले मालवाहक ढुवानी, आपूर्ति व्यवस्था, भन्सार राजस्व संकलन, स्थानीय व्यवसाय तथा कैलाश मानसरोवर जाने तीर्थयात्रीसमेत प्रभावित भएका छन्।

संघका अनुसार नाका बन्द भएपछि नेपालतर्फ ४० भन्दा बढी मालवाहक ट्रक रोकिएका छन् भने चीनको खासामा सामान बोकेका धेरै कन्टेनर अलपत्र परेका छन्। यसले ढुवानी लागत बढ्नुका साथै सामानमा क्षति पुग्ने जोखिम पनि बढाएको जनाएको छ।
संघका अध्यक्ष रामहरि कार्कीले सरकारले तत्काल सडक मर्मत, पहिरो नियन्त्रण तथा जोखिमयुक्त क्षेत्रको व्यवस्थापन नगरे वर्षायामभर तातोपानी नाका बन्द रहने र चाडपर्वको व्यापार गम्भीर रूपमा प्रभावित हुने चेतावनी दिएका छन्।
यता, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलबहादुर पाण्डेका अनुसार अरनिको राजमार्ग तीन स्थानमा पहिरोले अवरुद्ध भएको छ। माथिल्लो सडक खोल्दा बस्ती जोखिममा पर्ने भन्दै स्थानीयवासीले विरोध गरेका छन्। नदी किनारबाट वैकल्पिक सडक निर्माण भइरहेको भए पनि चिनियाँ निर्माण कम्पनीमार्फत भइरहेको उक्त काम सम्पन्न हुन अझै समय लाग्ने बताइएको छ।
यसैबीच, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानुनमन्त्री सोविता गौतमले आइतबार तातोपानी क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीयसँग छलफल गरेका छन्। सडक पुनः सञ्चालन गर्ने विषयमा प्राविधिक टोलीले जोखिम मूल्यांकन गरेपछि मात्रै निर्णय गरिने जनाइएको छ।


