
झापा – बर्खाको मध्यभागमा आइपुग्दा देशभर डेंगु संक्रमण ह्वात्तै बढेको पाइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार देशका ७२ वटा जिल्लामा डेंगुको सङ्क्रमण फैलिसकेको छ।
सन् २०२६ को जनवरीदेखि हालसम्म सम्ममा देशभर दुई हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ, जसमा सबैभन्दा धेरै पछिल्लो एक महिनामा देखिएका संक्रमित हुन्।
यस्तै यस समयमा डेंगुकै कारण २ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढी प्रभाव
ईडीसीडीको विवरण हेर्दा प्रदेश तहमा कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमित भेटिएका छन।
जसमा कोशी प्रदेशमा ५६८ र गण्डकी प्रदेश ५३२ रहेका छन। यस्तै बागमती प्रदेश ३६५ जना, लुम्बिनी प्रदेश ३४३, सुदूरपश्चिम प्रदेश १०३,कर्णाली प्रदेशमा ४२ र मधेश प्रदेशमा ७२ डेंगु संक्रमित भेटिएका छन।
यसअवधीमा डेंगुको संक्रमणदर हेर्दा जिल्ला तहमा झापा जिल्ला शीर्ष स्थानमा रहेको छ भने बागलुङ दोस्रो स्थानमा छ।
जसमा हाल झापामा २०४ जना संक्रमित छ भने बाग्लुङमा १८० जना डेंगुका केस छन्। यस्तै सुनसरीमा १६१, पाल्पामा, ११६, कास्कीमा ११०, काठमाडौंमा ९७,रूपन्देहीमा ६७, ओखलढुङ्गामा ६४,गोरखामा ६४ र तनहुँमा ६२ जना डेंगुका सक्रिय संक्रमित रहेका छन्। अरु संक्रमित अन्य जिल्लाका रहेका छन्। जिल्ला तहमा हेर्दा देशका ७२ जिल्लामा डेंगु देखिसकेको छ।
ईडीसीडीअन्तर्गतको किटजन्य शाखाका प्रमुख समेत रहेका किटजन्य रोग विशेषज्ञ डा।गोकर्ण दाहालका अनुसार गत वर्षको तुलनामा यो वर्ष डेंगु संक्रमण दरमा ५० प्रतिशत कमी आएपनि जोखिम नघटेको हुँदा संक्रमितको संख्या बढेको देखिएको हो।
‘गत वर्षहरूको भन्दा यो वर्ष डेंगु संक्रमणमा कम आए पनि जोखिम भने रहेकै छ.किनभने हाम्रोमा यो संक्रमण धेरै फैलिन भनेको यही समयदेखि भदौको महिनासम्म हो त्यसैले सतर्क भने अपनाउनु पर्छ’,डा दाहालले भने।
सरकारले असार अन्तिमदेखि कात्तिकसम्मको अवधिलाई बढी जोखिमयुक्त समय मानेर विशेष निगरानी र सचेतना अभियान सञ्चालन गर्दै आएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख जनरल कन्सल्टेन्ट फिजिसियन डा।विमल शर्मा चालिसे डेंगु संक्रमण कम हुँदै गए पनि जोखिम भने कम नभएको बताउँछन्। यस्तै पाँच वर्षको तथ्याङ्क अनुसार सात प्रदेश मध्ये मधेश प्रदेशमा डेगु संक्रमित एकदमै कम छन्। डेगु सङ्क्रमण घटे पनि पनि यसको जोखिम भने कायमै रहेको डा। दाहालले बताए।
महाशाखाले डेंगु धेरै प्रतिवेदन भएका जिल्ला तथा स्थानीय तहहरूमा अवस्थाको नियमित विश्लेषण गर्दै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक प्राविधिक सुझाव र दिशानिर्देशन निरन्तर पठाइरहेको जनाएको छ।
यो तीन महिने अभियानमार्फत डेंगु सार्ने ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको बासस्थान तथा प्रजनन स्थलहरूको खोजी गरी नष्ट गर्ने कार्यलाई तीव्र बनाउने र समुदायस्तरमा व्यापक जनचेतना फैलाउने लक्ष्य राखिएको छ।
डेंगु नियन्त्रणका लागि मुख्य गरी लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी तथा व्यवस्थापन गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो।


