Aamsanchar

कृत्रिम अभाव रोक्न एलपी ग्यास सिलिन्डरमा क्यूआर कोड राख्न निर्देशन

Author Image
मङ्गलवार, साउन १९, २०८३

काठमाडौँ  – प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले एलपी ग्यास सिलिन्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्।

समितिको मंगलबार बसेको बैठकमा उनले एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न देशभर रहेका करिब १ करोड ७५ लाख ग्यास सिलिन्डरको म्यापिङ गर्न निर्देशन दिएका हुन्।

उनले १७ दिनअघि सिलिन्डर म्यापिङ गर्न निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभएको बताए। समितिको गतिसँग तालमेल गर्न नसके जिम्मेवारीबाट अलग हुन आयल निगमको नेतृत्वलाई उनले चेतावनी समेत दिए।

आफूहरूलाई जनताको व्यापक दबाब रहेको उल्लेख गर्दै उनले काममा ढिलासुस्ती हुन नहुने बताए। अन्सारीले प्रत्येक ग्यास सिलिन्डरमा बारकोड वा क्यूआर कोड राखेर डिजिटल प्रणालीमार्फत ट्रयाकिङ गर्नुपर्ने बताए।

३० दिनभित्र कोड नभएका सिलिन्डर साटफेर रोक्ने व्यवस्था गरिएमा बजारमा लुकाइएका सिलिन्डर स्वतः बाहिर आउने उनको दाबी छ। नेपाल विद्युत प्राधिकरणको घरधुरी विवरणसँग ग्यास सिलिन्डरको विवरण जोडेर कुन सिलिन्डर कहाँ, कुन कम्पनीको र कसको प्रयोगमा छ भन्ने विवरण राज्यले राख्नुपर्ने उनले बताए। बैठकमा बोल्दै उनले भने, ‘हामीले १७ दिन अगाडि यो सिलिन्डर म्यापिङ हुनुपर्‍यो भनेर निर्देशन दिएका थियौँ।’

उनले अगाडि थपे, ‘मलाई थाहा छ १७ दिनमा म्यापिङ हुन सक्दैन तर त्यो म्यापिङको काममा के गर्‍यो नेपाल आयल निगमले ? ’

Views: 75

प्रतिक्रिया (०)