
इलाम- इलामको सन्दकपुर गाउँपालिका–४ स्थित माबुको हरिसे गाउँका २० घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन्।
साउन १० गतेको वर्षापछि गाउँको करिब २० रोपनी जमिन चिरा परेर धस्सिएसँगै बस्ती थप जोखिममा परेको हो।सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीका अनुसार जमिन चिरा परेपछि १२ घरपरिवार, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीको हेड ट्याङ्क, कार्यालय तथा कर्मचारी क्वार्टरसमेत जोखिममा परेका छन्।
तीमध्ये सोम राई र कल्पना राईलगायत १२ परिवारका घर अत्यधिक जोखिममा रहेकाले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो।

गत वर्ष असोज १८ गतेको वर्षापछि गएको पहिरोले पनि यही गाउँलाई प्रभावित बनाएको थियो। त्यस घटनामा एक स्थानीयवासीको ज्यान गएको थियो।
जमिन चिरा परेपछि वडाध्यक्ष ढालबहादुर गुरुङ, सन्दकपुर गाउँपालिकाको विपद् व्यवस्थापन शाखा तथा प्रहरी चौकी माबुको टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणपछि तत्काल बस्ती अन्यत्र सार्नुपर्ने निष्कर्ष निकालिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो।
उहाँका अनुसार गत वर्षको पहिरोपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाएको भए पनि हालसम्म त्यसको कार्यान्वयनबारे कुनै जानकारी प्राप्त भएको छैन।
“एक सातायता जमिन थप सरेको छ। अहिले ठूलो वर्षा भएको छैन, तर एक घण्टा मात्रै भारी वर्षा भयो भने ठूलो क्षति हुन सक्छ,” वडाध्यक्ष गुरुङले भन्नुभयो। उहाँका अनुसार जोखिमलाई मध्यनजर गर्दै छ घरपरिवारलाई रातको समयमा अन्यत्र बस्न आग्रह गरिएको छ र उनीहरू हाल सुरक्षित स्थानमा बस्दै आएका छन्।
जोखिममा परेको बस्तीको दीर्घकालीन व्यवस्थापन भने अझै हुन सकेको छैन। गाउँपालिकाले बस्ती स्थानान्तरणबारे छलफल गरिरहेको भए पनि पुनःस्थापनाका लागि आवश्यक जग्गा र बजेटको व्यवस्था हुन नसकेको जनाएको छ।
“बस्ती अन्यत्र नसारी हुँदैन। तर पुनर्वासका लागि आवश्यक स्रोतको व्यवस्था माथिल्लो तहबाट भएको छैन। विपद् प्राधिकरणबाट पनि कुनै जानकारी आएको छैन,” वडाध्यक्ष गुरुङले भन्नुभयो, “पानी पर्नासाथ हामीलाई यही बस्तीको चिन्ता हुने गरेको छ।”


