Aamsanchar

पाकिस्तानमा मिथेन ग्यास विष्फोट हुँदा कम्तीमा १५ जना श्रमिकको मृत्यु

Author Image
बुधवार, साउन २०, २०८३

पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित सोरान्ज कोइलाखानी क्षेत्रमा मिथेन ग्यास विष्फोट भई आगलागी हुँदा कम्तीमा १५ जना कोइला खानी श्रमिकको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी दुई दर्जनभन्दा बढी श्रमिकहरू अझै खानीभित्रै थुनिएका छन्।

सञ्चारमाध्यम द असम ट्रिब्यूनका अनुसार विष्फोटका बेला जमिनभन्दा करिब ४,००० फिट मुनि २४ जना श्रमिक काम गरिरहेका थिए। विष्फोटपछि सुरु भएको आगलागीका कारण खानीको संरचना भत्किएको छ। यस घटनाको असर नजिकै रहेको अर्को खानीमा पनि पर्दा त्यहाँ काम गरिरहेका थप १२ जना श्रमिकहरू पनि अलपत्र परेका छन्।

मुख्य खानी निरीक्षक मोहम्मद आतिफका अनुसार दुवै खानी गरी कुल ३६ जना श्रमिक उपस्थित थिए। खानी तथा खनिज विभाग र प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण ले उद्धार कार्य जारी राखेका छन्। अत्याधिक गहिरो भागमा मिथेन ग्यास जम्मा भएर विष्फोट भएको र त्यसपछि विषाक्त ग्यास फैलिएको अनुमान गरिएको छ।

यसअघि गत मे महिनामा पनि पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको साङ्ला जिल्लास्थित कोइलाखानीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जना श्रमिकको मृत्यु भएको थियो। पाकिस्तानमा बारम्बार हुने यस्ता दुर्घटनापछि स्थानीय बासिन्दा तथा श्रमिक संगठनहरूले खानीहरूमा पर्याप्त सुरक्षा उपायको अभाव रहेको भन्दै सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

Views: 37

प्रतिक्रिया (०)