Aamsanchar

बिर्तामोड ह्वाइटहाउस कलेजले रन फेस्ट र राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना गर्ने

Author Image
शुक्रवार, साउन २२, २०८३

बिर्तामोड । ह्वाइटहाउस एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी, बिर्तामोडले स्वस्थ जीवनशैली प्रवर्द्धन तथा प्रविधिमा आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ह्वाइटहाउस रन फेस्ट–२०२६ र राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कलेजले शनिबार बिहान ५ः३० बजे बिर्तामोडमा रन फेस्ट आयोजना हुने जानकारी दिएको हो। कार्यक्रममा विद्यार्थी, अभिभावक, युवा, खेलप्रेमी तथा सर्वसाधारणलाई सहभागी हुन आह्वान गरिएको छ। आयोजकका अनुसार रन फेस्टले स्वस्थ जीवनशैली, अनुशासन, सकारात्मक सोच र सामाजिक एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।

यसैगरी कलेजमा तीन दिनदेखि सञ्चालन भइरहेको राष्ट्रियस्तरको ह्याकाथनमा देशभरबाट आएका १४० भन्दा बढी विद्यार्थी सहभागी छन्। प्रतियोगितामा सहभागीहरूले अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा आधुनिक प्रविधि, समस्या समाधान, टोलीगत कार्य, सिर्जनशील सोच तथा नवप्रवर्तनका विषयमा आफ्नो क्षमता विकास गरिरहेका छन्।

ह्याकाथनको अन्तिम प्रतिस्पर्धा शनिबार र आइतबार हुने आयोजकले जनाएको छ। उत्कृष्ट प्रदर्शन गर्ने प्रथम टोलीलाई ५० हजार रुपैयाँ र द्वितीय टोलीलाई २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै, सहभागी सबै टोलीलाई पनि प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताको विशेष आकर्षणका रूपमा उत्कृष्ट प्रदर्शन गर्ने १० जना विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चारवर्षे ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी तथा ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन कार्यक्रममा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर प्रदान गरिने कलेजले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै कलेजका अध्यक्ष युवराज शर्माले शिक्षा अब केवल डिग्री हासिल गर्ने माध्यम नभई सीप, नेतृत्व, अनुसन्धान, कृत्रिम बुद्धिमत्ता उद्यमशीलता र विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति उत्पादन गर्ने माध्यम भएको बताए। बिर्तामोडलाई पूर्वी नेपालको प्रमुख शैक्षिक केन्द्रका रूपमा विकास गर्दै यहींबाट भविष्यका उत्कृष्ट इन्जिनियर, आईटी विज्ञ, अनुसन्धानकर्ता तथा उद्यमी उत्पादन गर्ने लक्ष्य रहेको पनि उनले उल्लेख गरे।

कार्यक्रम सफल बनाउन सहआयोजक संस्थामा बिर्तामोड रन क्लब, निधी स्कुल, इन्द्रेणी क्याम्पस रहेको जनाइएको छ ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर