Aamsanchar

बिर्तामोडमा असोज २० र २१ गते राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता

Author Image
शनिवार, साउन २३, २०८३


बिर्तामोड – बिर्तामोडमा तेस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा खुला पुरुष तथा महिला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’ आयोजना हुने भएको छ। बडी ग्यारेजको आयोजनामा आगामी असोज २० र २१ गते प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
यसअघि प्रदेशस्तरीय रूपमा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक पहिलोपटक राष्ट्रियस्तरमा आयोजना गर्न लागिएको हो। प्रतियोगिताको पहिलो दिन प्रिजजिङ तथा दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ।
पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ खुला प्रतिस्पर्धा गराइनेछ।
प्रतियोगिताको मुख्य विजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख, पाँचौँले ७५ हजार र छैटौँ हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, कोशी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको महिला खुला प्रतिस्पर्धाको विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
हरेक तौल समूहमा दोस्रो हुने खेलाडीलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। बाँकी तीन खेलाडीलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ।
प्रतियोगितामा देशभरबाट करिब २ सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यसअघि तेस्रो संस्करण २०८२ भदौ २७ र २८ गते आयोजना गर्ने तयारी गरिएको थियो। सम्पूर्ण तयारी पूरा भए पनि जेनजी आन्दोलनका कारण प्रतियोगिता स्थगित भएको आयोजकले जनाएको छ।
दोस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा’ उपाधि डिएनपी फिटनेस, गाईघाटका दिलिपकुमार चौधरीले जितेका थिए। उनी ६५ केजी तौल समूहबाट सहभागी भएका थिए।
प्रतियोगिताका अध्यक्ष पदम श्रेष्ठ, सचिव हिमाल खरेल र कार्यक्रम संयोजक राम दाहाल रहेका छन्।

Views: 32

प्रतिक्रिया (०)