Aamsanchar

लियोनल मेसी मैदानमा नहुँदा इन्टर मायामीले लिग्स कपमा हार्यो

Author Image
सोमवार, साउन २५, २०८३

न्युयोर्क-   कप्तान तथा स्टार खेलाडी लियोनल मेसी मैदानमा नहुँदा इन्टर मायामीले लिग्स कपमा हार बेहोरेको छ। आफ्नै मैदानमा भएको खेलमा इन्टर मायामी मेक्सिकोको मोन्टेरेसँग २–१ गोलले पराजित भएको हो।

मेसीको अनुपस्थितिमा मैदान उत्रिएको मायामीले सुरुवातमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोरेको हो। रोड्रिगो डे पाउलले ३२औं मिनेटमा गोल गर्दै इन्टर मायामीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा मोन्टेरेले खेलमा पुनरागमन गर्दै लगातार दुई गोल गरेपछि इन्टर मायामी स्तब्ध बनेको हो।

मोन्टेरेका ह्युगो क्युपर्सले ४७औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित समयको अन्तिमतिर डिएगो रोसीले गोल गरेपछि मोन्टेरेले २–१ को रोमाञ्चक जित निकालेको थियो।

इन्टर मायामीका लागि भने मेसीको अनुपस्थिति फेरि एकपटक ठूलो चुनौतीका रूपमा देखिएको छ। आठपटकका बालोन डी’ओर विजेता मेसी खेलमा सहभागी भएनन्। उनका पिता जर्ज मेसीको निधन भएपछि अर्जेन्टिनी सुपर स्टार शोकमा रहेकाले उनी मैदानबाहिर रहेका थिए। खेल सुरु हुनुअघि दुवै टोलीका खेलाडीले जर्ज मेसीको सम्झनामा मौनधारणसमेत गरेका थिए।

मेसी मैदानमा नहुँदा मायामीको आक्रमणमा स्वाभाविक रूपमा प्रभाव परेको थियो। मेसीसँगै अन्य केही महत्वपूर्ण खेलाडीको अनुपस्थितिसमेत रहेको अवस्थामा मायामीले अग्रता बनाए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न सकेन। मोन्टेरेविरुद्धको खेलमा डे पाउलले मायामीलाई अगाडि बढाए पनि दोस्रो हाफमा टोलीले खेलमाथिको नियन्त्रण गुमाएको थियो।

Views: 28

प्रतिक्रिया (०)