Aamsanchar

लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्त्वपूर्ण : मन्त्री सोविता गौतम

Author Image
सोमवार, साउन २५, २०८३

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन्।

काठमाडौँमा सोमबार आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्तो बताएकी हुन्।

अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र संस्कृति जगेर्ना गर्न आदिवासी समुदायले खेलेको भूमिकाको प्रशंसा गरिन्।

राज्यका कामकारबाही र सूचनाहरू हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको उनले उल्लेख गरिन्। राज्य र नागरिकबिच रहेको सूचनाको दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेकोमा उनले जोड दिइन्।

मिथिलादेखि राउटे समुदायसम्मका हरेक नागरिकले राज्यको गतिविधिबारे थाहा पाउनुपर्ने उनले बताइन्। मन्त्री गौतमले मातृभाषाका पत्रकारहरूले भोग्नुपरेका समस्या र चुनौतीप्रति राज्य सकारात्मक रहेको उल्लेख गरिन्।

उनले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि गर्नुपर्ने कामहरूको ठोस प्रस्ताव अथवा बुँदागत सुझाव पेश गर्न पत्रकारहरूलाई आग्रह गरेकी छन्। कार्यक्रममा मन्त्री गौतमले भनिन्, ‘नेपालको पहिचान र इतिहास केवल सरकारी दस्तावेजमा मात्र सीमित छैन, यो हाम्रो संस्कार, संस्कृति, रहनसहन र भाषाहरूमा जीवित छ।’

नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई जोगाउनु सबै नेपालीको साझा दायित्व भएको उनले बताइन्। ‘जब नागरिकले आफ्नै आमाले सिकाएको भाषामा राज्यका सूचनाहरू प्राप्त गर्छन्, तब मात्र लोकतन्त्र वास्तविक अर्थमा बलियो हुन्छ,’ उनले भनिन्।

भाषा केवल घर वा समुदायमा बोलेर मात्र नजोगिने र यसलाई सञ्चारमाध्यमका माध्यमबाट प्रयोगमा ल्याउँदा मात्र जीवन्त राख्न सकिने धारणा उनले राखिन्। भाषा बाँच्नु भनेको हाम्रो सभ्यता र पुर्खाको ज्ञान बाँच्नु रहेको उनको भनाइ छ।

गौतमले भाषाहरूको संरक्षण र पत्रकारहरूको वृत्तिविकासका लागि सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएकी छन्। अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विभिन्न देशका अभ्यास र अनुभव आदानप्रदान हुने र यसले राज्यलाई स्पष्ट मार्गनिर्देशन गर्ने अपेक्षा उनले व्यक्त गरिन्।

विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त सम्मेलनले मातृभाषा पत्रकारितालाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेकी छन्।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर