Aamsanchar

धरानस्थित पिण्डेश्वरमा बोलबम भक्तजनको घुईंचो

Author Image
सोमवार, साउन २५, २०८३

धरान –  साउन महिनाको अन्तिम सोमबार धरान उपमहानगरपालिका–१४ विजयपुर डाँडास्थित प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाममा ५० हजारभन्दा बढी भक्तजनले दर्शन तथा जलाभिषेक गरेका छन् ।

साउन महिनाभर सञ्चालन हुने बोलबम मेलाको अन्तिम सोमबार भएकाले आईतबार साँझदेखि नै पिण्डेश्वर बाबाधाममा भक्तजनको घुईंचो लागेको पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिले जनाएको छ । अत्यधिक भीडका कारण आईतबार राति देखि नैै शिवलिङ्गमा जल चढाउन ढोका खुुल्ला गरिएको व्यवस्थापन समितिका कोषाध्यक्ष पंकज घिमिरेले बताउनुभयो ।साउन महिनाभर सञ्चालन हुने बोलबम पूजाको अन्तिम सोमबार बिहान ११ बजेसम्म करिब ५० हजार भक्तजनले दर्शन गरिसकेको र दिनभरमा १ लाख भन्दा बढी श्रद्धालुले जल चढाउने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष केही कम भक्तजन आउनुभएको हो, गुरु बृहस्पति अस्त भएकाले साउन महिनाकाको पहिलो हप्ता र दोस्रो हप्तामा मांगलिक कार्य नगर्ने धार्मिक मान्यताका कारण प्रभाव परेको पनि भगवान् शिवको पूजा आराधना गर्न मिल्ने भएकाले भक्तजनहरू आइरहनुभएको थियो ।

पिण्डेश्वरम बाबाधाममा भक्तजनहरुले सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी तथा कोकाहा खोलाबाट जल ल्याएर शिवलिङ्गमा बेलपत्रसहित अर्पण गर्ने गरेका छन् । जल चढाएमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण धरानसहित सुनसरी, मोरङ, झापा, उदयपुरलगायत देशका विभिन्न जिल्लाबाट भक्तजन बोलबम यात्रामा सहभागी हुने गरेका छन् । कतिपय भक्तजनले चतराबाट पैदल तथा खाली खुट्टा हिँडेर जल ल्याउने परम्परालाई समेत निरन्तरता दिएका छन् । टाढाटाढाबाट आएका भक्तजन आइतबार नै नदीमा स्नान गरी जल लिएर पिण्डेश्वर पुग्ने, रातभर जाग्राम बस्ने र सोमबार बिहान शिवलिङ्गमा जल चढाएर फर्कने गरेका छन् ।

साउन महिनामा विशेषगरी महिलाले हरियो, पहेँलो तथा रातो पहिरन, चुरा र मेहन्दी लगाएर शिवको पूजा गर्ने गरेका छन् । विवाहित महिलाले पतिको दीर्घायु तथा पारिवारिक सुख–समृद्धि र अविवाहित युवतीले योग्य वरको कामना गर्दै शिवलिङ्गमा जल तथा बेलपत्र चढाउने परम्परा रहेको छ ।

पिण्डेश्वर बाबाधाममा बोलबम मेला २०४२ सालदेखि सुरु भएको समितिले जनाएको छ । भारतको देवघरस्थित वैद्यनाथ मन्दिरमा मात्र जाने बोलबम परम्परालाई विस्तार गर्दै पिण्डेश्वरमा समेत जल चढाउने परम्परा सुरु गरिएको हो । साउन महिना शिवजीको प्रिय महिना भएकाले साउनभरि शिवालयहरुमा शिवभक्तको घुईंचो लाग्ने गर्दछ ।

 

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर