Aamsanchar

बृहस्पति उदयसँगै गलेश्वर महादेवको दर्शनका लागि बढे भक्तजन

Author Image
सोमवार, साउन २५, २०८३

म्याग्दी – म्याग्दीको प्रसिद्ध गलेश्वरधाममा साउनका अघिल्ला तीन वटा सोमबार भन्दा भक्तजनहरुको चाप अन्तिम सोमबार बढेको छ । गत असार ३२ गते दिउँसो १२ः५५ बजे पश्चिममा बृहस्पति अस्त भए पछि धार्मिककार्यहरुमा केही सुस्ताएका भक्तजनहरु साउन २४ गते दिउसो १२ः२४ मा पूर्वमा उदय भए सँगै उत्साहीत हुन थालेका हुन् ।

साउनको महिना र सोमबार भगवान् शिवको आराधना गरेमा मनोकांक्षा पुरा हुने धार्मिक जनविश्वास अनुरुप साउने सोमबारहरुमा शिवालयहरुमा भक्तजनको बाक्लो उपस्थिति हुने गर्दछ ।

गलेश्वर शिवालयका मुल पुजारी चन्द्रमणी आचार्यका अनुसार मन्दिरमा बिहानैदेखि भक्तजनको आवागमन बढेको थियो । यस अगाडी साउनको ४, ११ गते कम आएका भक्तजनहरु साउन १६ गतेको सोमबार भने केही बढेका थिए । आज २५ गतेको सोमबार भक्तजनहरु बिहान ५ बजे भन्दा अगाडी देखिनै मन्दिरमा आएको पुजारीको भनाइ छ ।

साउनको सोमबार शिवको आराधना, शिवलिङ्गमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, व्रत बस्ने तथा पूजा, जप र ध्यान गर्ने हो भने मनोकामना पुरा हुने मान्यता अनुसार नै भक्तजनहरुको आगमन हुने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनको भनाइ छ ।

गलेश्वरमा कालीगण्डकी नदीको जल र गङ्गाजल चढाएर शिवको पूजा गरेमा मनोकामना पूरा हुने तथा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वासका कारण भक्तजनको आगमन हुने गरेको छ ।

यस वर्ष असार ३२ गते अस्त भएर साउनको २४ गते बृहस्पती उदय भएको हुँदा पनि सुरुका तीन वटा सोमबार नआएका भक्तजनहरु अन्तिम सोमबार आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्यसचिव सम्मरबहादुर थापाको भनाइ छ ।

 

यस वर्षको साउन महिनामा भने गलेश्वरको धार्मिक गतिविधिसँगै बृहस्पति ग्रह अस्त रहेको प्रसंगले समेत प्रभाव पारेको भक्तजनहरुको भनाइ छ । ज्योतिष तथा धर्मशास्त्रीय मान्यतामा बृहस्पतिलाई ज्ञान, धर्म, गुरु, सन्तान तथा शुभकार्यका कारक ग्रहका रूपमा लिइन्छ । सूर्यसँग अत्यन्त नजिक पुग्दा पृथ्वीबाट बृहस्पतिको दृश्यता हराउने अवस्थालाई बृहस्पति अस्त वा गुरु अस्त भनिन्छ । यस अवस्थामा बृहस्पतिको शुभ प्रभाव कमजोर हुने धार्मिक विश्वास छ ।

बृहस्पति अस्त भएका बेला सबै धार्मिक काम बन्द गर्नुपर्छ भन्ने भने होइन । नित्य रूपमा गरिँदै आएका स्नान, ध्यान, जप, सन्ध्या, नियमित पूजापाठ, व्रत तथा भगवानको आराधना गर्न सकिने धार्मिक मान्यता छ ।

श्राद्ध, तर्पण तथा आवश्यक नैमित्तिक संस्कार पनि गर्न मिल्ने उल्लेख धार्मिक ग्रन्थ तथा ज्योतिषीय परम्परामा पाइन्छ । तर नयाँ र विशेष फल प्राप्तिको उद्देश्यले साइत हेरेर गरिने काम्य कर्म भने बृहस्पति अस्तको समयमा नगर्ने परम्परा छ । विवाह, व्रतबन्ध, गृहआरम्भ, गृहप्रवेश, देवताको नयाँ स्थापना तथा प्राणप्रतिष्ठा, नयाँ मन्दिर निर्माण, नयाँ व्रतको आरम्भ, पहिलोपटक गरिने तीर्थयात्रा तथा केही विशेष धार्मिक अनुष्ठानलाई यस्तो समयमा टार्ने गरिएको मुल पुजारी आचार्यको भनाई छ ।

गलेश्वर महादेवको दर्शनका लागि बृहस्पती अस्तले बाधा हो र बृहस्पति अस्तको समयमा गलेश्वरमा भइरहेको नियमित शिवपूजा र दर्शनलाई धार्मिक आस्थाको निरन्तरताका रूपमा लिइन्छ । नियमित रूपमा गरिने शिवआराधना, जल अर्पण, बेलपत्र चढाउने, जप तथा व्रतजस्ता कर्ममा भने रोक नहुने धार्मिक मान्यता रहेको छ ।

गलेश्वरमा मन्दिर दर्शनको व्यवस्थापनका लागि नेपाल प्रहरीसँगै, सामुदायिक प्रहरी, विविभन्न विद्यालय, क्लब, सामाजिक संघसंस्था आमा समूहहरुले पनि भक्तजनको सहजताका लागि स्वयंसेवकका रुपमा काम गरेका थिए ।

 

मुक्तिनाथ जाने प्रमुख प्रवेशद्वारका रूपमा समेत परिचित गलेश्वर कालीगण्डकी करिडोर हुँदै मुस्ताङ र मुक्तिनाथ जाने धार्मिक पर्यटक तथा तीर्थयात्रीका लागि पनि थप महत्वको स्थल हो ।

गलेश्वरधाम धार्मिक आस्थाका दृष्टिले मात्र नभई ऐतिहासिक र पौराणिक महत्वका कारणसमेत चर्चित स्थलको रुपमा रहेको छ । रघुगङ्गा र कालीगण्डकी नदीको सङ्गमस्थलमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि स्वयं उत्पन्न ज्योर्तिलिङ्ग रहेको गलेश्वर शिवालय धार्मिक हिसाबले निकै महत्वपूर्ण मानिन्छ । गलेश्वरमा स्वयं उत्पन्न ज्योतिर्लिङ्गलार्य शिवस्वरूप मान्दै भक्तजनले पूजा गर्ने गर्दछन् ।

धार्मिक मान्यताअनुसार ग्रह अस्त भएको समयलाई नयाँ र विशेष शुभकार्यका लागि अनुकूल नमानिए पनि भगवानको नियमित आराधना, जप, ध्यान र पूजालाई भने निरन्तरता दिन सकिन्छ । त्यसैले साउनको अन्तिम सोमबार गलेश्वर पुगेका भक्तजनले नयाँ शुभकार्यको थालनीभन्दा शिवभक्तिमा आफूलाई समर्पित गर्दै पूजाआजा र दर्शनलाई प्राथमिकता दिएका छन् ।

साउन महिनाको अन्तिम सोमबारसँगै यस वर्षको साउने सोमबारे शिवआराधनाको क्रम पनि आजैबाट सकिने मन्दिरका पुजारी आचार्यको भनाइ छ । तर गलेश्वरमा भने धार्मिक पर्यटक तथा तीर्थालुको आगमन वर्षभरि नै रहने भएकाले यहाँको धार्मिक चहलपहल साउनपछि पनि जारी रहने गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीको भनाइ छ ।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर