
काठमाडौं – श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिमा सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नैतिक जिम्मेवारी बहन गर्दै सदनमा आएर जवाफ दिनुपर्ने बताए।

विभिन्न बहानामा देशमा अराजक गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। जनता सुरक्षा,न्याय र सुविधाबाट बञ्चित हुनुपरेको उनको भनाइ छ। यी सबै कुरा प्रधानमन्त्री बालेनको गैह्रजिम्मेवार कार्यशैलीका कारण उत्पन्न भएको उनको दावी छ।
‘यस्तो देश हाम्रो भयो। जुन देशको प्रधानमन्त्री स्वयंले हामीले छिमेकी मुलुकको सीमा हामीले मिच्या छौं भन्नुपरो। यस्तो देश जहाँ सुरक्षा छैन,न्याय छैन। सुरक्षित छैनन् नागरिक। हामी सांसद पनि सुरक्षित छैनौं। यो देशलाई देशजस्तो बनाउन हामी तयार छौं। नैतिकता नै बल हो। नैतिकता गुमायौं भने कसैले पत्याउनेवाला छैनन्। यसकारण प्रधानमन्त्री शाहले बालहठ त्यागेर सदनमा आएर आफूले दिएको अभिव्यक्तिमा जवाफ दिनुपर्छ।’



