Aamsanchar

७२ घण्टाभित्र ग्यास आपूर्ति सहज नभए नेपाल बन्द गर्ने माओवादीको चेतावनी

Author Image
मङ्गलवार, साउन २६, २०८३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ७२ घण्टाभित्र खाना पकाउने ग्यासको आपूर्ति सहज नगरे नेपाल बन्द गर्ने चेतावनी दिएको छ ।

पार्टीका महासचिव ‘गारख’ले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत देशभर ग्यासको अभाव, मूल्यवृद्धि, कालोबजारी तथा बजारमा देखिएको बेथिति तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् ।

विज्ञप्तिमा ग्यासको सहज आपूर्ति तथा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइएको छ । तोकिएको अवधिभित्र समस्या समाधान नभए नेपाल बन्दको कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको हो ।

पार्टीले ग्यास डिपोमा भइरहेको भनिएको कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गर्दै आफ्ना नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई बजार अनुगमन गर्न निर्देशन दिएको जनाएको छ । कालोबजारीमा संलग्नमाथि ‘जनकारबाही’ गर्ने चेतावनीसमेत विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले महँगीका कारण भूमिहीन, सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी तथा आदिवासी जनजातिसहित आम नागरिक प्रभावित भएको दाबी गरेको छ । शिक्षा र स्वास्थ्यमा लगाइएका विभिन्न कर खारेज गरी मजदुर, किसान तथा सुकुम्बासीका लागि निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिमा मिटरब्याज, लघुवित्तबाट हुने शोषण, भ्रष्टाचार, बलात्कार तथा जनताको सुरक्षालगायतका विषयमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाइएको छ ।

पार्टीले वर्तमान संसदीय व्यवस्थालाई असफल व्यवस्था भएको निष्कर्ष प्रस्तुत गर्दै ‘नयाँ जनवादी क्रान्ति’ र ‘राष्ट्रिय मुक्ति क्रान्ति’का लागि आम नेपालीलाई गोलबन्द हुन आह्वान गरेको छ ।

विज्ञप्तिमा सरकार जनताको समस्याप्रति जिम्मेवार नभएको आरोप लगाउँदै तत्काल ग्यास आपूर्ति सहज बनाउन तथा कालोबजारी नियन्त्रण गर्न माग गरिएको छ ।

Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर