Aamsanchar

‘हिमाली टावर’ फुलेर सेताम्मे, पर्यटकको सङ्ख्यासमेत बढ्यो

Author Image
शनिवार, साउन ३०, २०८३

पाँचथर- याङवरक गाउँपालिका–२ स्थित तिम्बुङ पोखरी आसपासका हिमाली चौर यतिबेला केञ्जो फुलेर सेताम्मे बनेका छन्।

समुद्र सतहबाट करिब चार हजार तीन सय मिटरभन्दा माथिको घाँसे मैदान तथा चट्टानी भूभागमा पाइने केञ्जो फुलेसँगै यस क्षेत्रको रूपरेखा थप उज्यालो बनेको छ। केञ्जो ढकमक्क फुलेपछि यस क्षेत्रमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यासमेत बढ्न थालेको छ।

हरिया पातमाथि तह–तहमा सेता पत्र फैलाउँदै चुचुरोसम्म पुगेका केञ्जो टाढाबाट हेर्दा हिमाली चौरमा उभिएका सेता टावरजस्तै देखिने भएकाले स्थानीयवासीले यसलाई ‘हिमाली टावर’ समेत भन्ने गर्छन्। तिम्बुङ क्षेत्रमा केञ्जो फक्रिने चौरलाई ‘केञ्जो गार्डेन’ र केञ्जोलाई ‘हिमाली टावर’ भन्ने गरिएको तिम्बुङ पोखरीका पर्यटन व्यवसायी अमिर राई बताउनुहुन्छ।

पर्यटकहरू केञ्जोका सेताम्मे बगैँचामा पुगेर तस्बिर तथा भिडियो बनाउने, प्राकृतिक दृश्यावलोकन गर्ने र हिमाली वातावरणको आनन्द लिने गरिरहेका छन्।

दुर्लभ तथा औषधीय गुण भएको मानिने केञ्जो भने पर्यटकको चापसँगै संरक्षणको चुनौतीमा परेको छ। केही आगन्तुकले फुलेका बोट भाँच्ने र उखेल्ने गरेको स्थानीयवासी बताउँछन्। त्यसैले हिमाली चौरको यो प्राकृतिक सौन्दर्य जोगाउन फूल नटिपिदिन र बोट नउखेल्न स्थानीयवासीले आग्रह गरेका छन्।

Views: 52

प्रतिक्रिया (०)