
बिर्तामोड । बिर्तामोड–२, चारपानेमा रहेको एकता सेवा सहयोग समाजको प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सुशिलकुमार बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

शनिबार चारपानेमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष सुशिलकुमार बस्नेतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा संस्थाको स्थापना २०७९ साल भदौ ७ गते भएको उल्लेख गर्दै सामाजिक सेवाको भावनाबाट स्थापना भएको संस्थाले विपन्न तथा समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएको जनाइएको छ।
घर–घरबाट सहयोग संकलन गर्दै सामाजिक सेवाको अभियान सुरु गरेको संस्थाको गतिविधि पछिल्लो समय बिर्तामोडका विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको प्रतिवेदनमा उल्लेख छ। स्थापना भएदेखि संस्थाले सामाजिक सहयोग तथा मानवीय सेवाका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ।

साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो। आर्थिक विवरणअनुसार संस्थाको कुल आम्दानी तथा खर्च करिब ४ लाख ६ हजार रुपैयाँ रहेको छ। आम्दानीतर्फ सदस्यता तथा विभिन्न व्यक्तिबाट प्राप्त सहयोग समेटिएको छ भने खर्चतर्फ साधारणसभा, संस्थागत व्यवस्थापन, टेन्ट तथा सामाजिक गतिविधिमा रकम खर्च भएको कोषाध्यक्ष उमेश शर्माले जानकारी दिए।
साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सरकारका उपसचिव रुद्रप्रसाद न्यौपानेले सामाजिक संस्थाले समाजमा पु¥याउने योगदान महत्वपूर्ण हुने बताए।
कार्यक्रममा बिर्तामोड–२ का वडा सदस्य तिला गौतम, पत्रकार बिनोद पाण्डलगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव हरिभक्त उप्रेतीले गरेका थिए।
अधिवेशनले पुरानै पदाधिकारीलाई सर्वसम्मत रूपमा पुनः निर्वाचित गरेको छ। समितिको अध्यक्षमा सुशिलकुमार बस्नेत, उपाध्यक्षमा धनपति प्रसाईं, सचिवमा हरिभक्त उप्रेती, सहसचिवमा बृहस्पति निरौला र कोषाध्यक्षमा उमेश शर्मा चयन भएका छन्।
त्यस्तै सदस्यमा होमनाथ पोख्रेल, टिका पनेरु, सीता बानियाँ, देवीप्रसाद अधिकारी र रीता अधिकारी चयन भएका छन्।
अधिवेशनले प्रेमप्रकाश सिटौलाको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको छ। समितिको सदस्यमा डिल्लीराम सिटौला, देवीप्रसाद खरेल, ज्ञानबहादुर पौडेल, उपेन्द्र पराजुली र जगन्नाथ अधिकारी रहेका छन्।
नवनिर्वाचित समितिले आगामी दिनमा संस्थाको सामाजिक सेवाका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विपन्न तथा समस्यामा परेका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

