Aamsanchar

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

Author Image
शनिवार, साउन ३०, २०८३

काठमाडौं । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रूपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ यतिबेला काठमाडौंस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।

राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका हुन्। महाभारतको युद्ध समाप्त भएपछि उत्पन्न सामाजिक, राजनीतिक तथा मानवीय संकट र शून्यतालाई केन्द्रमा राखिएको नाटकले युद्धपछिको समाजमा बाँकी रहने हिंसा, प्रतिशोध, सत्ता संघर्ष, नैतिक द्वन्द्व र मानवीय जिम्मेवारीका प्रश्न उठाएको छ।

निर्देशक खतिवडाका अनुसार महाभारतको पुरानो कथामार्फत वर्तमान समाजमा देखिने हिंसा, सत्ता संघर्ष, प्रतिशोध र नैतिक संकटलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ। युद्ध सकिए पनि त्यसले जन्माएका द्वन्द्व र त्यसका प्रभाव समाप्त नहुने विषयलाई नाटकले उजागर गर्छ।

खतिवडाका लागि ‘द एज अफ डार्कनेस’ विशेष नाटकसमेत हो। करिब ११ वर्षअघि यही नाटकमार्फत उनले अभिनय यात्रा सुरु गरेका थिए। त्यतिबेला कलाकारका रूपमा मञ्चमा उभिएका खतिवडा अहिले भने सोही नाटकलाई निर्देशकका रूपमा दर्शकमाझ ल्याएका छन्। पुरानो नाटकलाई वर्तमान समय र दर्शकसँग जोड्दै नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको उनले बताए।

मण्डला थिएटरको प्रस्तुतिमा रहेको नाटकले महाभारतको युद्धपछि बाँकी रहेको हिंसा र प्रतिशोधसँगै सत्ता, नैतिकता तथा मानवीय जिम्मेवारीबीचको द्वन्द्वलाई मञ्चमा उतारेको छ। युद्धमा विजयी र पराजित दुवै पक्षले भोग्नुपरेको मानसिक तथा सामाजिक प्रभावलाई समेत नाटकले चित्रण गरेको छ।

नाटकमा सबिना चौधरी, कमल रेग्मी, राजाराम गौतम, जिनलव दोर्जे वम्जन, आभुषण घिमिरे, मिलन पन्त, इन्द्रकुमार लिम्बु, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामना राई, विजय दोङ, सौगन श्रेष्ठ, राजु श्रेष्ठ, नित्य पौडेल, विश्वजित ढकाल, मनुमित लेप्चा, घमन शाही, आरती बरुवाल, सुनिता राई, कुमार लामा, सुरेन्द्र विश्वकर्मा, सुजाता राई, अविशेक खतिवडा, सम्पदा लकान्द्रि र सुजल कोइरालाले अभिनय गरेका छन्।

नाटकको संगीतमा सौरभ चालिसे, सलिना बिक, जीवन राई र कुमार लामाको योगदान रहेको छ। ‘द एज अफ डार्कनेस’ आगामी भदौ १४ गतेसम्म मञ्चन हुनेछ।

Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर