
कनकाई, झापा । नेपालको मौलिक लोकसंस्कृति अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा प्रस्तुत गर्न झापाको कनकाई–७, दुर्गापुरस्थित फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनका विद्यार्थीहरू भारतको दार्जिलिङ प्रस्थान गर्दैछन्।

गोर्खा जनमुक्ति मोर्चा, दार्जिलिङको आयोजनामा अगस्ट २० (भदौ ४) मा हुने बृहत् नेपाली सांस्कृतिक नृत्य आदान–प्रदान कार्यक्रममा सहभागी हुन फक्ताङ्लुङका १० विद्यार्थी र ३ शिक्षक प्रतिनिधि बुधबार (अगस्ट १९) भारत प्रस्थान गर्ने भएका हुन्।
कार्यक्रममा फक्ताङ्लुङका विद्यार्थीहरूले नेपालको पश्चिमी भूभागमा प्रचलित हुड्केली नृत्य तथा पूर्वी नेपालमा रहेको बायुङ राई समुदायको मौलिक सेग्रो नृत्य प्रस्तुत गर्नेछन्। एउटै मञ्चमा नेपालको पश्चिमदेखि पूर्वसम्मका फरक–फरक समुदाय र भूगोलका सांस्कृतिक पहिचान प्रस्तुत गर्ने तयारी गरिएको फाउन्डेसनले जनाएको छ।

नेपालको विविधतापूर्ण लोककला, नृत्य र परम्परालाई छिमेकी मुलुकको सांस्कृतिक मञ्चमा प्रस्तुत गर्ने अवसरले विद्यार्थीहरूलाई आफ्नो मौलिक संस्कृतिप्रति थप जानकार र गौरवान्वित बनाउने अपेक्षा गरिएको छ। साथै, अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुति दिँदा विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता तथा प्रस्तुतीकरण सीप विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
फक्ताङ्लुङको सहभागिता केवल नृत्य प्रस्तुतिमा सीमित नभई नेपालको सांस्कृतिक विविधता चिनाउने अवसरका रूपमा समेत हेरिएको छ। विभिन्न जातजाति र समुदायका मौलिक संस्कृति एउटै देशको साझा पहिचान भएको सन्देश दार्जिलिङको मञ्चबाट प्रवाह गर्ने उद्देश्य रहेको फाउन्डेसनको भनाइ छ।
नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। फक्ताङ्लुङका विद्यार्थीहरूको सहभागिताले उनीहरूलाई सांस्कृतिक प्रतिनिधिका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउनुका साथै नेपालको लोककला र परम्परालाई सीमापार चिनाउनसमेत योगदान पुर्याउने विश्वास गरिएको छ।


