बिर्तामोड। झापाको बिर्तामोड–४ की इसरत परविन शेख नेपाल हज समितिको सदस्यमा नियुक्त भएकी छन्। गृह मन्त्रालयले भदौ १ गते मन्त्रीस्तरीय निर्णय गर्दै ३९ वर्षीया शेखलाई समितिको सदस्यको जिम्मेवारी दिएको हो।
गृह मन्त्रालयकी उपसचिव प्रदर्शनी कुमारीका अनुसार शेखको कार्यकाल भदौ २ गतेदेखि लागू हुनेछ। नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश, २०८२ को दफा ३ को उपदफा १ (ख) बमोजिम उनलाई सदस्य तोकिएको मन्त्रालयले जनाएको छ।

व्यवसायसँगै सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय शेख बिर्तामोडमा महिलाका कपडा तथा इस्लामिक सामग्री बिक्री गर्ने इसरत कलेक्सन सञ्चालन गर्दै आएकी छन्। उनी महद अनलाइन कुरआन एकेडेमीमा समेत आबद्ध छिन्। उनले बिर्तामोडस्थित कनकाई आदर्श कलेजमा अध्ययन गरेकी हुन्।
नेपाल हज समितिले नेपालबाट साउदी अरबको मक्का–मदिना जाने हजयात्रीको यात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन समन्वय तथा व्यवस्थापनको काम गर्दै आएको छ। समितिमा शेखको नियुक्तिसँगै झापाबाट मुस्लिम महिला प्रतिनिधित्वसमेत थपिएको छ।

हज इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा महत्वपूर्ण धार्मिक कर्तव्यमध्ये एक हो। यो साउदी अरबको मक्कास्थित काबा शरीफमा गरिने विशेष धार्मिक तीर्थयात्रा हो।
सरल भाषामा भन्नुपर्दा, हज भनेको सक्षम मुस्लिमले जीवनमा कम्तीमा एकपटक मक्का पुगेर निश्चित धार्मिक विधि पूरा गर्ने अनिवार्य धार्मिक कर्तव्य हो।
हजका मुख्य कुरा
हज इस्लामका पाँच आधारभूत स्तम्भमध्ये एक हो।
आर्थिक र शारीरिक रूपमा सक्षम मुस्लिमले जीवनमा कम्तीमा एकपटक हज गर्नुपर्ने मान्यता छ।
हज इस्लामिक पात्रोअनुसार जुलहिज्जा महिनामा निश्चित दिनमा गरिन्छ।
हजयात्रीले काबा परिक्रमा (तवाफ), सफा र मर्वाबीच सई, अराफातमा उपस्थित हुने, मुजदलिफा र मिनामा बस्नेलगायतका धार्मिक विधि पूरा गर्छन्।
हजमा विश्वका विभिन्न देशबाट लाखौँ मुस्लिम सहभागी हुन्छन्।
उमरा र हज फरक हुन्। उमरा वर्षको जुनसुकै समयमा गर्न सकिन्छ भने हज निश्चित समयमै गर्नुपर्छ।


