बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा–२ का सुमन थापा पक्राउ परेका छन्। उनी बालिका खोज्ने क्रममा प्रहरीसँगै घटनास्थलमा हिँडिरहेका थिए। तालिमप्राप्त कुकुरले संकेत गरेपछि उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार थापाले बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकार गरेका छन्। उनी वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन्। अनुसन्धानका क्रममा उक्त भ्यानका चालक प्रोग्रेस चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
गरिमा आइतबार बिहानदेखि हराएकी थिइन्। खोजीका क्रममा मंगलबार साँझ घरबाट करिब २०० मिटर टाढाको खाली घरमा कपडामा पोको पारिएको अवस्थामा उनको शव फेला परेको थियो।

घटनापछि स्थानीयले दोषीलाई कडा कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सिमराअगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण बुधबार वीरगञ्ज–पथलैया सडकखण्डमा करिब दुई घण्टा यातायात प्रभावित भएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
फोटो श्रोत:अनलाइन खबर


