Aamsanchar

प्रधानमन्त्री बालेन्द्रमा आफू प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँ भन्ने भ्रम देखिएको डाक्टर भट्टराइको टिप्पणी

Author Image
बुधवार, भदौ ३, २०८३

गोरखा  –  पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले प्रधानमन्त्री बालेन्द्र शाहमा आफू प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँ भन्ने भ्रम देखिएको टिप्पणी गरेका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरूसँग कुराकानी गर्दै डाक्टर भट्टराईले प्रधानमन्त्रीले भ्रमहरू चिर्दै बाहिर निस्कन सुझाव दिएका छन् ।

‘उहाँलाई थोरै भ्रम के पर्‍यो जस्तो लाग्यो भने,उहाँमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुँ भन्ने सोच्दै हुनुहुन्छजस्तो देखियो’,भट्टराईले भने,‘हामी त संसदले प्रधानमन्त्री छान्ने प्रणालीमै छौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा गइसकेका छैनौँ । सायद उहाँ यसमा भ्रमित हुनुभयो र संसदप्रति जवाफदेही हुनुपर्दैन,आफ्नो ढंगले अगाडि जाँदा हुन्छ भन्ने सोच्नु भयो होला ।’

आफूहरूले पनि बेलाबेला सम्झाइरहेको उनले बताए। ‘उहाँ सायद भ्रममा हुनुहुन्छ कि जस्तो लागेर हामीले बाहिर पनि अलिअलि भन्यौँ । उहाँमा पनि पछिल्लो चरणमा बोध भयो होला । अब सायद उहाँ संसदमा जानु हुनेछ । सांसदहरूको कुरा पनि सुन्नुहुनेछ । जवाफदेही हुनुहुनेछ’,भट्टराईले भने,‘केही दिनअघि सभामुखले पनि रुलिङ गर्नुभएको छ । सायद सल्लाहले नै होला सभामुखले रुलिङ गर्नुभएको जस्तो लागेको छ ।’ अब प्रधानमन्त्रीमा अरुको कुरा पनि सुन्नुपर्छ भन्ने भावना पैदा भएको हुनसक्ने अनुमान पूर्वप्रधानमन्त्री भट्टराईले गरे । विगतमा विदेशका जोकोहीले बेला कुबेला प्रधानमन्त्रीलाई भेट्ने र आफ्ना कुराहर लाद्ने परिपाटी भएकाले अहिलेका प्रधानमन्त्रीले त्यसलाई व्यवस्थित बनाउने प्रयास गरेको भट्टराईको टिप्पणी छ ।

‘यो देशबाट,त्यो देशबाट भन्दै ऐरेगैरे जोकोही आउँछ,राति नि भेटेको छ दिउँसो नि भेटेको छ । त्यो चाहिँ एउटा पराकाष्टा भएको थियो’,भट्टराईले भने,‘सायद त्यसैबाट वाक्कदिक्क भएर कसैसँग एक्लै भेट्दिन,सामूहिक भेट्छु भन्नुभएको होला । त्यो ठिकै पनि थियो । तर, फेरि कुटनीति भनेपछि छिमेकीहरूसँग अल्ली धेरै,त्यसपछि ठूला शक्तिकेन्द्रहरूसँग पनि गर्नुपर्ने हुन्छ ।

‘त्यसपछि अरु मुलुकहरूसँग गर्नुपर्ने हुन्छ । त्यो प्राथमिकता मिलाउन उहाँको अलि ध्यान नपुगेको हो । अहिले बिस्तारै सिक्दै गएको देख्छु,’उनले भने। अहिले भेटघाट गर्न थालेकोप्रति सन्तुष्टि व्यक्त गर्दै उनले अपारदर्शी भेटघाट गर्न नहुने उनको सुझाव छ ।

राजनीतिक जनादेशबाट बनेको संविधान आवधिक मतादेशबाट आएकाहरूले पुनर्लेखन गर्नु अनुचित हुने पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईको तर्क छ। ‘संविधान निर्माण गर्न राजनीतिक जनादेश लिएको निकायले बनाएको संविधान पाँच वर्षका निम्ति मतादेश लिएर आएकाहरूले पुनर्लेखन गर्नु हुँदैन,ुउनले भने,‘पाँच वर्षका निम्ति आउने मान्छेले पचासौं,सयौं वर्षका निम्ति बनेको संविधान पुनर्लेखन गर्ने हैसियत पनि हुन्न,गर्नु पनि हुन्न । उहाँहरूले नबुझेर यो विषय उठाउनु भएको हुनसक्छ। संविधानलाई धेरै चलाउनु हुँदैन। संसारभरि कहीँ त्यस्तो अभ्यास पनि छैन ।’

Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर