Aamsanchar

काँकरभिट्टामा होटल व्यवसायीको गुनासो– पर्यटक आगमनअनुसार पूर्वाधार बनेन

Author Image
आइतवार, भदौ ७, २०८३

मेचीनगर । पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको कोशी प्रदेशमा होटल तथा आतिथ्य व्यवसायलाई कसरी थप व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्दै होटल व्यवसायी महासंघ नेपालले आफ्नो देश दौडाहा अभियानलाई निरन्तरता दिएको छ।

महासंघको आयोजनामा मेचीनगरमा आयोजित पर्यटन तथा होटल व्यवसायसम्बन्धी अन्तरक्रियामा व्यवसायीले भोग्दै आएका समस्या, पर्यटन पूर्वाधारको अवस्था, लगानीको वातावरण तथा व्यवसाय विस्तारका सम्भावनाबारे गहन छलफल गरिएको हो। कार्यक्रमले केवल पर्यटन प्रवर्द्धनको चर्चा मात्र नगरी होटल व्यवसायीका वास्तविक समस्या सम्बन्धित निकायसमक्ष पुर्‍याउने प्रयास गरेको सहभागीहरूले बताएका छन्।
होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठले स्वागत गरेको कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले महासंघले व्यवसायीका समस्या स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा अन्तरक्रिया गर्दै आएको बताए।

कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको प्रमुख नाका काँकरभिट्टामा पर्यटन र होटल व्यवसायको विकासका लागि पूर्वाधार तथा सेवासुविधा विस्तार गर्नुपर्ने बताइन। उनले पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायलाई सहज, सुरक्षित र सुविधा सम्पन्न बनाउन स्थानीय सरकार, निजी क्षेत्र तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको धारणा राखिन।

कार्यक्रममा होटल व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, उद्योग वाणिज्य संघ कोशी प्रदेशका पर्यटन तथा हवाईसम्बन्धी संयोजक भविस श्रेष्ठललगायतले होटल व्यवसायको वर्तमान अवस्था र पर्यटन क्षेत्रसँग यसको सम्बन्धबारे धारणा राखेका थिए।
मुख्य प्रस्तुतिमा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले ‘कोशी प्रदेशको पर्यटन प्रवर्द्धन तथा होटल व्यवसायको सम्भावना र विकास’ विषयमा प्रस्तुतीकरण राखेका थिए। उनले कोशी प्रदेशमा रहेका धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका सम्भावनालाई होटल तथा आतिथ्य व्यवसायसँग जोडेर अघि बढाउन सके स्थानीय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउन सकिनेमा जोड दिए ।

झापाली व्यवसायीहरूले भने पर्यटकको आगमनअनुसार पूर्वाधार विकास हुन नसकेको, व्यवसाय सञ्चालनमा विभिन्न प्रशासनिक तथा आर्थिक समस्या रहेको, पर्यटकलाई लामो समयसम्म बस्ने वातावरण निर्माण गर्न नसकिएको र पर्यटन क्षेत्रका सरोकारवाला निकायबीच अपेक्षित समन्वय हुन नसकेको गुनासो राखेको कार्यक्रम संयोजनकर्ता होटल व्यवसायी संघ झापा अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन ।

सहभागीहरूले पर्यटन क्षेत्रको विकासका लागि स्थानीय सरकार, सुरक्षा निकाय, होटल तथा पर्यटन व्यवसायी र सम्बन्धित सरकारी निकायबीच सहकार्यलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। उनीहरूले पर्यटकमैत्री नीति, पूर्वाधार विकास, व्यवसायीका लागि सहज वातावरण र स्थानीय पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचारप्रसारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए।

महासंघले देशका विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रमा पुगेर व्यवसायीका समस्या सुन्ने, सम्भावना पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
पर्यटनको सम्भावना बोकेका गन्तव्यमा होटल व्यवसायीको समस्या बुझ्दै समाधानको बाटो खोज्ने महासंघको अभियानले पर्यटन प्रवर्द्धनसँगै आतिथ्य व्यवसायको दिगो विकासका लागि दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Views: 41

प्रतिक्रिया (०)