
कोभिडको वेलाको फायल तस्वीर ।
विपद्मा ज्यान गुमाएका नागरिकको स–सम्मान अन्तिम संस्कार गर्न पाउनु हरेक परिवारको अधिकार हो। त्यसैले पहिचान नभएका शवहरूलाई ‘जमिनमुनि व्यवस्थापन’ गरिएको विषयले स्वाभाविक रूपमा भावनात्मक प्रश्न उठाउनु पनि स्वाभाविक हो।

तर, विपद्को समयमा भावनासँगै वैज्ञानिक तथ्य र जनस्वास्थ्यको पक्ष पनि बुझ्न आवश्यक हुन्छ।
बाढी, लेदो तथा पानीमा लामो समय फसेका शवहरू छिटो विघटन हुन सक्छन्। यस्तो अवस्थामा शवलाई खुला वा असुरक्षित रूपमा राख्दा दुर्गन्ध, जैविक जोखिम तथा उद्धारकर्मी र समुदायमा संक्रमणको जोखिम बढ्न सक्छ। त्यसैले ठूलो संख्यामा शव व्यवस्थापन गर्नुपर्दा सुरक्षित, व्यवस्थित र सम्मानजनक विधि अपनाउनु आवश्यक हुन्छ।

कतिपयले आलु–तरकारी वा आइसक्रिम राख्ने व्यावसायिक कोल्ड स्टोरलाई शवगृहका रूपमा प्रयोग गर्नुपर्ने तर्क गरिरहेका छन्। तर, खाद्य पदार्थ भण्डारण गर्ने संरचनालाई मानव शव राख्ने स्थानका रूपमा प्रयोग गर्नु उचित विकल्प होइन। खाद्य सुरक्षा, सरसफाइ तथा जैविक जोखिमका दृष्टिले खाद्य भण्डारण र शव व्यवस्थापनका लागि छुट्टाछुट्टै व्यवस्था आवश्यक हुन्छ।
त्यसैले विपद्को अवस्थामा आवश्यक पूर्वाधार अभाव हुँदा अस्थायी दफन (Temporary Burial) लगायतका सुरक्षित विधि प्रयोग गरिन सक्छन्। यसको अर्थ शवलाई बेवारिसे रूपमा ‘फाल्नु’ वा परिवारको अन्तिम संस्कार गर्ने अधिकार खोस्नु होइन।
सबैभन्दा महत्वपूर्ण कुरा हो—शवको पहिचान सुरक्षित राख्नु। त्यसका लागि प्रत्येक शवको अभिलेख, फोटो, व्यक्तिगत सामग्री, पहिचानसम्बन्धी विवरण तथा सम्भव भएसम्म DNA नमुना सुरक्षित राख्ने र शवको स्थान व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने प्रक्रिया आवश्यक हुन्छ। भविष्यमा परिवारबाट प्राप्त नमुनासँग मिलान गरी पहिचान खुलेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव निकालेर परिवारको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्न सकिने व्यवस्था हुनुपर्छ।
यस विषयमा राज्यले पनि कहाँ, कसरी र कुन प्रोटोकलअनुसार शव व्यवस्थापन गरियो, कति शवको अभिलेख राखियो र पहिचानका लागि के–कस्ता प्रक्रिया अपनाइए भन्ने कुरा पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ।
सरकारलाई प्रश्न गर्नु नागरिकको अधिकार हो। तर प्रश्न तथ्य र प्रमाणका आधारमा गरौँ। विपद्को संवेदनशील अवस्थालाई भावनात्मक रूपमा मात्र व्याख्या गरेर अपुष्ट सूचना फैलाउँदा परिवार, उद्धारकर्मी र स्वयं विपद् व्यवस्थापन प्रणालीलाई थप कठिनाइ हुन सक्छ।
विशेषगरी सामाजिक सञ्जालका influencer तथा content creatorहरूले कुनै विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुअघि स्रोत र वैज्ञानिक तथ्यबारे पर्याप्त अध्ययन गर्नु आवश्यक छ।
भावना आवश्यक छ, तर विपद् व्यवस्थापनमा भावना मात्र पर्याप्त हुँदैन।
मानवीय संवेदना, वैज्ञानिक तथ्य र जिम्मेवार सूचना—तीनैको सन्तुलन आवश्यक छ।

