Aamsanchar

गुफा पातालमा सोलार हाई–मास्ट लाइट जडान गरिँदै, मन्त्री पाठकद्वारा स्थलगत निरीक्षण

Author Image
आइतवार, भदौ १४, २०८३

इलाम । इलामको प्रसिद्ध पर्यटकीय क्षेत्र श्रीअन्तु नजिकै सूर्योदय नगरपालिका–४ मा रहेको उदीयमान पर्यटकीयस्थल गुफा पातालमा अत्याधुनिक सोलार हाई–मास्ट लाइट जडान गरिने भएको छ।

गुफा पाताल क्षेत्रको रात्रिकालीन सौन्दर्य बढाउनुका साथै पर्यटक तथा स्थानीयवासीको सुरक्षा र रातिको आवतजावत सहज बनाउने उद्देश्यले कोशी प्रदेश सरकारले उक्त योजना अघि बढाएको हो।

योजनाका लागि कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमार्फत खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयबाट आवश्यक बजेट विनियोजन गरिएको छ।

बजेट विनियोजनसँगै योजना कार्यान्वयनको प्रक्रिया अघि बढाउन खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री चिन्तन पाठक सहितको प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूले गुफा पाताल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।

निरीक्षणका क्रममा प्राविधिक टोली, मन्त्री पाठक तथा स्थानीय जनप्रतिनिधिबीच भएको छलफलपछि वडा नं. ४ को प्रमुख आकर्षणका रूपमा विकास हुँदै गएको गुफा पातालमै सोलार हाई–मास्ट लाइट जडान गर्ने निर्णय गरिएको हो।

स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूका अनुसार हाई–मास्ट लाइट जडान भएपछि साँझ तथा रातिको समयमा गुफा पाताल क्षेत्रमा पर्यटकलाई दृश्यावलोकन गर्न र सुरक्षित रूपमा आवतजावत गर्न सहज हुनेछ। यसले क्षेत्रको रात्रिकालीन सौन्दर्यसमेत थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

पर्यटकीय पूर्वाधार विकाससँगै स्थानीय क्षेत्रको सुरक्षा र सौन्दर्यीकरणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उनीहरूले गुफा पाताललाई श्रीअन्तुसँग जोडेर थप व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधारमा लगानी बढाउन प्रदेश सरकारसँग आग्रहसमेत गरेका छन्।

Views: 43

प्रतिक्रिया (०)