बिर्तामोड । सामाजिक उत्तरदायित्व र पत्रकारिताको सिर्जनशीलतालाई सँगसँगै अघि बढाउँदै नारी सञ्चार गृह झापाले १५ औँ स्थापना दिवस तथा १४ औँ वार्षिक साधारण सभा मनाएको छ।
बिर्तामोडस्थित जयन्द्र प्रसाईं साहित्य सेवा कोषको सभा हलमा आयोजित कार्यक्रममा गृहले विपद्मा परेका नागरिकलाई सहयोग गर्नुका साथै पत्रकारिता तथा सिर्जनात्मक लेखनमा सक्रिय आफ्ना सदस्यलाई प्रोत्साहन गरेको हो।

स्थापना दिवसको अवसर पारेर गृहले भोटेकोशी क्षेत्रका बाढीपीडित परिवारको राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ हजार रुपैयाँ सहयोग गरेको छ।
कार्यक्रममा चार जना सदस्यलाई विभिन्न विधाका लेखनवृत्ति तथा सम्मान प्रदान गरियो। सामुदायिक विद्यालयमा खानेपानी, शौचालय तथा सेनेटरी प्याड भेन्डिङ मेसिनको अवस्थाबारे लेखनवृत्ति सृजना परियार र ‘जलवायु परिवर्तन र मानव जीवनमा प्रभाव’ सम्बन्धी लेखनवृत्ति सविना लिम्बूलाई प्रदान गरिएको छ।

पूर्वअध्यक्ष भिमा शिवाकोटीले स्थापना गरेको ‘तीजको सामाजिक तथा सांस्कृतिक महत्व’ सम्बन्धी लेखनवृत्ति किरण हुमागाईंलाई प्रदान गरियो। त्यस्तै, संस्थापक अध्यक्ष सावित्रा दाहालद्वारा स्थापित ‘वर्ष उत्कृष्ट सदस्य’ पुरस्कार रञ्जिता खड्काले प्राप्त गरिन्। चारै जनालाई जनही ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो।
संस्थाकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा नारी सञ्चार गृहकी पूर्वअध्यक्ष अम्बिका भण्डारी प्रमुख अतिथि थिइन्।
कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल, पूर्वअध्यक्ष भिमा शिवाकोटी, निवर्तमान अध्यक्ष रेजिना गौतम तथा संस्थापक सदस्यहरू भवानी क्षेत्री, सुशिला सङ्ग्रौला र इन्दु पूर्वेलीको आतिथ्य रहेको थियो। उपाध्यक्ष जोश्ना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन्।
वार्षिक साधारण सभाले सचिव दीपा पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुनिरा मैनालीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मतिले पारित गरेको छ।
सोही अवसरमा गृहमा आबद्ध भएका १३ जना नयाँ सदस्यलाई स्वागत समेत गरिएको थियो।
१५ वर्षे यात्रामा नारी सञ्चार गृहले पत्रकार महिलाको क्षमता विकास, लेखन तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्नुका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत आफ्नो सक्रियता बढाउँदै आएको छ।

