Aamsanchar

घैलाडुब्बामा दधिकाद, हण्डीफोड र बाँसचढी खेलसहित कृष्ण जन्माष्टमी मनाइयो

Author Image
शनिवार, भदौ २०, २०८३

कनकाई । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बास्थित टेकनारायण बारीमा दधिकाद, हण्डीफोड, बाँसचढीलगायतका परम्परागत खेल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी कृष्ण जन्माष्टमी मनाइएको छ।

कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने दधिकाद पर्वको अवसरमा स्थानीय राजवंशी समुदायको सहभागितामा विभिन्न प्रतियोगितात्मक खेल सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागीहरूले एकअर्कालाई हिलो लगाएर रमाइलो गर्नुका साथै परम्परागत खेलमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।

दधिकाद पूर्वी तराईमा बसोबास गर्ने राजवंशी, गन्गाई र ताजपुरिया लगायतका आदिवासी समुदायले परम्परागत रूपमा मनाउँदै आएको धार्मिक तथा सांस्कृतिक पर्व हो। झापा, मोरङ र सुनसरीमा कृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् नवमीका दिन यो पर्व मनाउने चलन छ।

भगवान श्रीकृष्णले दही चोरेर खाने तथा दहीमा खेल्ने गरेको धार्मिक कथनसँग दधिकाद पर्व जोडिएको छ। दही उपलब्ध नभएका कारण माटोको हिलोलाई नै दहीको प्रतीक मानेर एकअर्कामा हिलो छ्याप्दै रमाउने परम्परा रहेको राजवंशी समुदायका अगुवाहरू प्रेम राजवंशीले जानकारी दिए ।

दधिकादका अवसरमा हिलोमा नरिवल राखेर दुई समूहबीच प्रतिस्पर्धा गराउने चलनसमेत छ। एउटा समूहले नरिवल कृष्ण मन्दिरमा चढाउन लैजाने प्रयास गर्छ भने अर्को समूहले रोक्ने गर्छ। यस क्रममा हुने घम्साघम्सीलाई पर्वको प्रमुख आकर्षणका रूपमा लिइन्छ।

त्यस्तै, तेल दलेर चिल्लो बनाइएको बाँसमा चढेर माथि राखिएको पोको फुकाउने, हण्डी फुटाउने, हिलोमा खेल्ने तथा नरिवल खोस्ने लगायतका खेल आयोजना गर्ने परम्परा रहेको छ। यस्ता खेलमा युवादेखि वृद्धसम्मको सहभागिता रहने गरेको पाइन्छ।

दधिकाद पर्वलाई धार्मिक आस्था, सामाजिक सद्भाव र मनोरञ्जनसँग जोडिएको पर्वका रूपमा समेत लिइन्छ। पर्वका क्रममा समुदायका सदस्यहरू एकै ठाउँमा भेला हुने, परम्परागत भजन–कीर्तन गर्ने तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने भएकाले यसले पुस्तौँदेखि चलिआएको मौलिक संस्कृति संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको स्थानीयको भनाइ छ।

कृष्ण जन्माष्टमीको अघिल्लो रात विभिन्न स्थानमा कृष्ण मन्दिरमा भजन–कीर्तन गर्दै जाग्राम बस्ने र भोलिपल्ट दधिकाद पर्वका अवसरमा विविध कार्यक्रम सञ्चालन गर्ने प्रचलनसमेत रहेको छ।

घैलाडुब्बामा आयोजित कार्यक्रमले स्थानीय राजवंशी समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएको सहभागीहरूले बताएका छन्। आधुनिक जीवनशैलीका कारण मौलिक परम्परा र संस्कृतिहरू ओझेलमा पर्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको विश्वास छ।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर