

काठमाडौं – नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीमा २७५ जना भारतीय नागरिकहरू अझै बेपत्ता रहेको भारतले जनाएको छ ।
नेपालका बाढीप्रभावित क्षेत्रहरूबाट हालसम्म कुल १६९ जना भारतीयको सकुशल उद्धार गरिएको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार साँझ जानकारी दिए ।

जयसवालका अनुसार पछिल्लो उद्धारका क्रममा एक ५ वर्षीया बालिकासहित तीनजना भारतीयलाई त्रिशूली बजारबाट सुरक्षित स्थानमा निकालिएको उनले बताए ।
“नेपालस्थित हाम्रो दूतावासले उनीहरूलाई हवाई मार्गबाट भारत फिर्ता पठाउन सहयोग गरिरहेको छ,” उनले सामाजिक सञ्जाल ’एक्स’ मा उल्लेख गरेका छन् ।
नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ताले एक हजार ९०७ जना भारतीय नागरिक चीनबाट सफलतापूर्वक नेपाल प्रवेश गरिसकेको बताए । चिनियाँ आधिकारिक स्रोतलाई उद्धृत गर्दै जयसवालले तिब्बत स्वायत्त क्षेत्रमा अब कुनै पनि भारतीय यात्रु अलपत्र नरहेको बताए ।
शनिबार काठमाडौंस्थित भारतीय राजदूतले रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपालको सुरक्षा फौजसँग मिलेर काम गरिरहेको भारतीय सुरुङ उद्धार टोलीले आफ्नो कार्यलाई थप तीव्र बनाएको बताए ।
“नेपाली सेनासँग मिलेर काम गरिरहेको भारतीय सुरुङ उद्धार टोलीले हिजो चिलिमे सुरुङको अझ गहिराइमा पुगेर पानी बाहिर निकालेको छ । सुरुङसम्म थप ठूला तथा भारी उपकरणहरू पुर्याउनका लागि अस्थायी मार्ग पनि निर्माण गरिँदैछ,” भारतीय राजदूत नवीन श्रीवास्तवले भने ।
उनले उद्धारकर्ताहरूसँगै आएका भारतीय चिकित्सकहरूले स्थानीय समुदायका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको समेत बताए ।

