Aamsanchar

‘रक्तदान जीवनदान’ : होटल द किङ्सबेरीमा ८४ पिन्ट रगत संकलन

Author Image
आइतवार, भदौ २१, २०८३

बिर्तामोड । ‘रक्तदान नै जीवनदान हो’ भन्ने मूल नाराका साथ बिर्तामोडस्थित होटल द किङ्सबेरीमा आयोजित रक्तदान कार्यक्रममा ८४ पिन्ट रगत संकलन भएको छ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहकार्यमा होटल द किङ्सबेरीले रक्तदान कार्यक्रम आयोजना गरेको हो। झापामा पछिल्लो समय रगतको माग बढिरहेको र रेडक्रसले रक्तदातालाई रक्तदानका लागि आह्वान गरिरहेका बेला कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ।

होटल द किङ्सबेरीका अध्यक्ष रवि शर्मा धितालको जन्मदिनको अवसर पारेर यस वर्षको जन्मोत्सवलाई मानवीय सेवामा समर्पित गरिएको होटलकी प्रबन्ध निर्देशक जानु धितालले बताइन्।

फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा समाज तथा मानव सेवामा योगदान पुर्‍याउने उद्देश्यले रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिइन्।

कार्यक्रममा होटल तथा क्यासिनोमा कार्यरत कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कुल ८४ जना रक्तदाताले रक्तदान गरेका थिए।

रक्तदान केवल रगत दान गर्ने कार्य मात्र नभई आवश्यक परेको व्यक्तिलाई जीवन बचाउन सहयोग गर्ने महान् मानवीय सेवा भएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने रक्तदाता, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोली तथा अन्य सहयोगीप्रति होटलले आभार व्यक्त गरेको छ।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर