बिर्तामोड । भोटेकोशीमा गत भदौ १० गते आएको भीषण बाढी तथा पहिरोमा परी दिवंगत भएकाहरूको आत्माको शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै झापाका सनातन धर्मगुरु तथा बटुकहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।
वैदिक सनातन धर्म संरक्षण समितिको आयोजनामा सोमबार बिर्तामोडमा धार्मिक कार्यक्रमसहित सहयोग रकम हस्तान्तरण गरिएको हो। झापाका पण्डित, पुरोहित तथा बटुकहरूबाट संकलित १ लाख १ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समितिका सचिव खगेन्द्र निरौलाले जानकारी दिए।

कार्यक्रममा अर्जुनधारा जलेश्वर धाम गुरुकुल शनिश्चरे, विवेकाश्रम साँगवेद मावि चारपाने, माधव संस्कृत मावि मेचीनगर–सहरेडाँगी, सत्यधाम सप्तऋषि गुरुकुल अर्जुनधारा, शंकराचार्य पीठ वेदवेदाङ्ग साधुटार, गौरीशंकर स्वरूपाश्रम बाह्रदशी, हरिहर संस्कृत गुरुकुल बुट्टाबारी, कनकाई धाम विकास समिति, ओमकारेश्वर वैदिक गुरुकुल मेचीनगर, कालिका पीठ कालिस्थान अर्जुनधारा, ओमकारेश्वर गायत्री स्वरूपाश्रम हल्दिबारी र कृष्ण द्वैपायन गुरुकुल भद्रपुरका गुरु तथा बटुकसहित एक सयभन्दा बढीको सहभागिता थियो।
कार्यक्रममा साँझ ४ बजेदेखि सामूहिक गीता पाठ गरिएको थियो। त्यसपछि १ हजार ८ दीप प्रज्वलन गरी विपद्मा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो।

विपद्को समयमा देशका विभिन्न संघसंस्था तथा व्यक्तिहरूले आ–आफ्नो तर्फबाट राहत कोषमा सहयोग गर्दै आएका छन्। धार्मिक संस्थाहरू आफैं पनि दान तथा सहयोगकै भरमा सञ्चालन हुँदै आए पनि विपद्मा पीडितलाई सहयोग गर्नु धर्म र मानवीय कर्तव्य भएको भन्दै झापाका ब्राह्मण तथा धर्मगुरुहरूले अन्य संघसंस्थालाई समेत राहत कोषमा सहयोग गर्न आह्वान गरेका छन्।
कार्यक्रमका सहभागीहरूले विपद्को समयमा गरिएको सहयोगले धर्मको वास्तविक अर्थ र मानव जीवनमा सहयोग तथा सेवाको सकारात्मक महत्वलाई अझ स्पष्ट पारेको धारणा व्यक्त गरेका थिए।

