बिर्तामोडमा प्रथम जिल्ला स्तरीय युवा कलाकार अभिनय शिविर हुँदै
बिर्तामोड । झापाका विद्यालयमा नाट्यकला अध्ययन गरिरहेका विद्यार्थीको अभिनय क्षमता, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने उद्देश्यले बिर्तामोडमा प्रथम जिल्ला स्तरीय युवा कलाकार अभिनय शिविर–२०२६ आयोजना हुने भएको छ।

सीईएस थिएटर क्लबको आयोजनामा तथा काठमाडौंस्थित चुनुमुनु थिएटरको सहकार्यमा भाद्र २७, २८ र २९ गते तीनदिने अभिनय शिविर सञ्चालन हुने आयोजकले जनाएको छ। शिविर बिर्तामोडस्थित चिल्ड्रेन्स इन्भाइरोमेन्ट स्कुलको ग्रेस अडिटोरियममा हुनेछ।
आयोजकका अनुसार शिविरमा झापाका विभिन्न विद्यालयमा नाट्यकला अध्ययन गरिरहेका विद्यार्थी सहभागी हुनेछन्। कार्यक्रमको मुख्य प्रशिक्षक चुनुमुनु थिएटरका निर्देशक तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त अभिनय प्रशिक्षक राजन भुजेल रहनेछन्।

आयोजकले विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्नुका साथै उनीहरूको सिर्जनशीलता, कल्पनाशक्ति, आत्मविश्वास र व्यक्तिगत अभिव्यक्तिको विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाएको छ।
अमूर्त अभिनयमा केन्द्रित प्रशिक्षण
आयोजकका अनुसार तीनदिने शिविरमा अमूर्त अभिनयलाई विशेष प्राथमिकता दिइनेछ। कल्पना, प्रतीक, अमूर्त विचार तथा भावनालाई शरीर, हाउभाउ, गति र आवाजको सिर्जनात्मक प्रयोगमार्फत मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अभ्यास गराइनेछ।
परम्परागत संवाद र यथार्थवादी अभिनयभन्दा बाहिर गएर शरीर, मञ्चीय स्थान, लय, मौनता, ध्वनि तथा प्रतीकात्मक क्रियाको प्रयोगबाट दृश्य र भाव सिर्जना गर्ने क्षमताको विकास गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रशिक्षण केवल अभिनयका प्राविधिक पक्षमा सीमित रहने छैन। विद्यार्थीमा रहेको सिर्जनशील सोच, कल्पनाशक्ति, तत्काल सिर्जना गर्ने क्षमता र मौलिक अभिव्यक्तिलाई प्रोत्साहित गर्दै उनीहरूलाई आफ्नै अभिनय शैली खोज्न प्रेरित गरिनेछ।
बालबालिकाको आवाज, शरीर, भाव, हाउभाउ तथा मञ्चीय उपस्थितिको विकाससँगै उनीहरूमा रहेको आत्मविश्वास उजागर गर्नु कार्यक्रमको विशेष प्राथमिकता रहेको आयोजकको भनाइ छ।
‘विद्यालयमा नाट्य कला’ विषयमा बृहत् छलफल
शिविरको पहिलो दिन ‘विद्यालयमा नाट्य कला’ विषयमा विशेष बृहत् प्यानल छलफल आयोजना गरिने आयोजकले जनाएको छ।
छलफलमा वरिष्ठ नाट्य कलाकार टंक विकल्प, निर्देशक तथा प्रशिक्षक कविता नेपाल, वरिष्ठ कलाकार सुभाषचन्द्र खरेल र मुख्य प्रशिक्षक राजन भुजेल सहभागी हुनेछन्। कार्यक्रमको सहजकर्ता कवि, सञ्चारकर्मी तथा व्यक्तित्व विकास प्रशिक्षक लिला अनमोल रहनेछन्।
आयोजकका अनुसार प्यानल छलफलमा विद्यालयमा अभिनय तथा रंगमञ्च शिक्षाको आवश्यकता, सम्भावना र चुनौतीका साथै बालबालिकाको व्यक्तित्व विकासमा नाट्यकलाको भूमिकाबारे छलफल गरिनेछ।
नाट्यकला बालबालिकालाई अभिनय सिकाउने माध्यम मात्र नभई उनीहरूको आत्मविश्वास, सिर्जनशीलता, सञ्चार क्षमता, नेतृत्व क्षमता, कल्पनाशक्ति तथा सामूहिक कार्यक्षमता विकास गर्ने महत्वपूर्ण माध्यम भएको आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक तथा थिएटर प्रशिक्षक दिनेशराज शर्माका अनुसार शिविरमा अभिनयका विभिन्न व्यावहारिक, सिर्जनात्मक तथा प्रयोगात्मक अभ्यास गराइनेछ। शिविरबाट उत्कृष्ट प्रतिभाको पहिचान गरी उनीहरूलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रंगमञ्चका लागि तयार पार्ने लक्ष्य राखिएको छ।
आयोजकले यसलाई केवल अभिनय प्रशिक्षणका रूपमा नभई झापाका युवा रंगप्रतिभालाई एउटै मञ्चमा ल्याएर उनीहरूको पहिचान, प्रोत्साहन र भविष्य निर्माण गर्ने अभियानका रूपमा लिएको जनाएको छ।

