चारपाने । स्वास्थ्य सेवामा उपकरण अभावका कारण नागरिकले भोग्दै आएको समस्या न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय झापाली समाजले कनकाई नगरपालिकालाई करिब ३० लाख रुपैयाँ बराबरका दुई थान स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ।
भदौ २८ गते आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका प्रतिनिधिले कनकाई नगरपालिकालाई एक वर्षको पूर्ण वारेन्टीसहितका सामसुङ एचएस ४० र बायो रेड डी १० उपकरण हस्तान्तरण गरेका हुन्।
कनकाई नगर स्वास्थ्य अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणको अभावका कारण नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै समाजले कनकाई नगरपालिकालाई सहयोगका लागि छनोट गरेको जनाएको छ। स्वास्थ्य क्षेत्रमा नगरपालिकाले गरिरहेको कामलाई समेत मूल्याङ्कन गर्दै सहयोग गरिएको समाजको भनाइ छ।
हस्तान्तरण गरिएका उपकरणमध्ये सामसुङ एचएस ४० ले अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) सेवा उपलब्ध गराउन सहयोग गर्नेछ भने बायो रेड डी १० ले मधुमेह अर्थात् रगतमा चिनी ग्लुकोजलगायतका परीक्षण गर्न सकिनेछ । यी उपकरण सञ्चालनमा आएपछि अस्पतालमा आउने नागरिकले थप सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
समाजसेवाका लागि निजी क्षेत्रको सहकार्यसमेत महत्वपूर्ण हुने उदाहरणका रूपमा यो सहयोगलाई लिइएको छ। काठमाडौंको घट्टेकुलोस्थित लिमिनल हेल्थकेयर प्रालि. ले करिब ३० लाख रुपैयाँ बराबरका उक्त स्वास्थ्य उपकरण अन्तर्राष्ट्रिय झापाली समाजलाई उपलब्ध गराएको थियो। समाजले आवश्यकताको पहिचान गरी ती उपकरण कनकाई नगरपालिकालाई हस्तान्तरण गरेको हो।
उपकरण हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेल, अन्तर्राष्ट्रिय झापाली समाज नेपाल समन्वय समितिका संयोजक राजु थापा र सचिव सुदर्शन रोक्काले कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल तथा वडा नम्बर ७ का वडाध्यक्ष भीष्मभूषण सिटौलालाई संयुक्त रूपमा उपकरण हस्तान्तरण गरेका थिए।
स्वास्थ्यजस्तो प्रत्यक्ष रूपमा नागरिकको जीवनसँग जोडिएको क्षेत्रमा गरिएको यस्तो सहयोगले स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। सरकारी स्वास्थ्य संस्थामा आवश्यक उपकरण थपिँदा सामान्य परीक्षण र उपचारका लागि नागरिकले अन्यत्र धाउनुपर्ने बाध्यता समेत कम हुने विश्वास गरिएको छ।
विदेशमा रहेका तथा देशका विभिन्न स्थानमा रहेका झापालीलाई सामाजिक सेवामा जोड्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले शिक्षा, स्वास्थ्य, विपद् तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएको छ। कनकाई नगरपालिकालाई गरिएको पछिल्लो स्वास्थ्य उपकरण सहयोग पनि समाजको ‘जहाँ आवश्यकता, त्यहाँ सहयोग’ भन्ने सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा देखिएको छ।
स्वास्थ्य उपकरण हस्तान्तरणले सहयोग प्राप्त गर्ने स्थानीय तह मात्र नभई निजी क्षेत्र, सामाजिक संस्था र प्रवासी नेपालीबीचको सहकार्यबाट स्थानीय स्वास्थ्य सेवाको क्षमता विस्तार गर्न सकिने सन्देशसमेत दिएको छ।

