
झापा । हल्दिबारी–३ का रिजन मगर १३ वर्षदेखि जटिल स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका छन्। उपचारका लागि ठूलो रकम आवश्यक पर्ने तर परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण समयमै उपचार हुन नसक्दा उनको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको परिवारले जनाएको छ।

२०६६ साल साउन ६ गते जन्मिएका रिजनमा जन्मिएको करिब तीन वर्षपछि टाउकाको नसासम्बन्धी समस्या देखिएको थियो। स्वास्थ्य समस्या बढ्दै गएपछि उनी अहिले पूर्ण रूपमा अरूको सहारामा निर्भर हुनुपर्ने अवस्थामा पुगेका छन्। पढ्न, लेख्न तथा दैनिक जीवनका सामान्य कामसमेत आफैँ गर्न नसक्ने अवस्थामा रहेका रिजन हाल मावली घरमा बस्दै आएका छन्।
रिजनका बुबा काभ्रे निवासी राज मगर र आमा हल्दिबारी–३ निवासी प्रेमकुमारी गिरी हुन्। छोराको उपचारका लागि वर्षौँदेखि प्रयास गर्दै आए पनि कमजोर आर्थिक अवस्थाका कारण आवश्यक उपचार अघि बढाउन नसकिएको आमा प्रेमकुमारीले बताइन्।

चिकित्सकीय परामर्शअनुसार रिजनको थप उपचार तथा आवश्यक शल्यक्रियाका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको परिवारले जनाएको छ। तर दैनिक गुजारा चलाउनसमेत कठिन परिवारका लागि यति ठूलो रकम जुटाउनु असम्भवजस्तै बनेको छ।
‘छोराले अरूजस्तै सामान्य जीवन बिताओस् भन्ने चाहना छ। उपचार पाए केही सहज हुन सक्छ भन्ने आशा छ,’ आमा प्रेमकुमारीले भनिन्, ‘तर पैसा नभएकै कारण उपचार गर्न सकिएको छैन।’
१३ वर्षदेखि छोराको हेरचाह र उपचारका लागि संघर्ष गर्दै आएकी प्रेमकुमारी अहिले सहयोगी हातहरूको खोजीमा छन्। आर्थिक अभावका कारण उपचारबाट वञ्चित भइरहेका रिजनको जीवनमा सुधार ल्याउन सकिने आशासहित परिवारले देश तथा विदेशमा रहेका नेपाली, समाजसेवी, व्यवसायी, संघ–संस्था तथा सहयोगी मनहरूसँग सहयोगको अपिल गरेको छ।
परिवारका अनुसार सहयोग रकम सानो वा ठूलो जस्तो भए पनि रिजनको उपचारका लागि महत्वपूर्ण हुनेछ। आर्थिक सहयोग गर्न नसक्नेहरूले समेत रिजनको उपचारसम्बन्धी समाचार तथा भिडियो सामग्री सामाजिक सञ्जालमा सेयर गरेर अभियानलाई थप मानिससम्म पु¥याउन सहयोग गर्न सक्ने परिवारको आग्रह छ।
वर्षौँदेखि रोगसँग संघर्ष गरिरहेका रिजनका लागि अहिले सबैभन्दा ठूलो चुनौती उपचार खर्च जुटाउनु बनेको छ। करिब १५ लाख रुपैयाँ जुट्न सके उपचार प्रक्रिया अघि बढाउन सहज हुने परिवारको अपेक्षा छ।
आर्थिक अभावकै कारण एउटा युवाको उपचार रोकिएर जीवन थप कष्टकर नबनोस् भन्ने अपेक्षासहित परिवारले रिजनको उपचारका लागि सहयोगी मनहरूसँग हार्दिक अपिल गरेको छ।

