Aamsanchar

चारआलीमा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन, थिम सेमिनारमा चर्चित तीन वक्ता

Author Image
सोमवार, भदौ २९, २०८३

झापा । युवाको क्षमता विकास, नेतृत्व निर्माण तथा सामाजिक रूपान्तरणमा सक्रिय नेपाल जेसीजको बहुप्रतीक्षित क्षेत्र ‘क’ सम्मेलन यस वर्ष चारआली जेसीजको आतिथ्यतामा हुने भएको छ।

आगामी असोज ९ र १० गते आयोजना हुने सम्मेलनको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। सम्मेलनलाई विशेष बनाउन विभिन्न कार्यक्रमसँगै राष्ट्रिय व्यक्तित्वहरूको सहभागितामा ‘थिम सेमिनार’ आयोजना गरिने भएको छ।

थिम सेमिनारमा नेपाल सरकारका पूर्वअर्थमन्त्री तथा अर्थशास्त्री सुरेन्द्र पाण्डे, समसामयिक राजनीतिक तथा सामाजिक विषयमा टिप्पणी गर्दै आएका नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजन गौतम र वरिष्ठ पत्रकार टिकाराम यात्री वक्ताका रूपमा सहभागी हुने भएका छन्।

मुलुकको समसामयिक राजनीतिक तथा आर्थिक अवस्था र युवा नेतृत्वको भूमिका विषयमा केन्द्रित सेमिनारमा वक्ताहरूले समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्ने आयोजकले जनाएको छ। युवा नेतृत्वलाई समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा थप स्पष्ट र व्यावहारिक दृष्टिकोण प्रदान गर्ने उद्देश्यले सेमिनार आयोजना गर्न लागिएको हो।

सम्मेलनका सम्मेलन निर्देशक तथा चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी उत्तमप्रसाद पकुवालका अनुसार थिम सेमिनार २०८३ साल असोज ९ गते बिहान १०ः४५ बजेदेखि सुरु हुनेछ।

क्षेत्र ‘क’ अन्तर्गतका विभिन्न जेसीज शाखाबाट सयौँ युवा लिडरहरूको सहभागिता रहने सम्मेलनले नेतृत्व विकाससँगै युवालाई सामाजिक रूपान्तरणमा थप सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

चारआली जेसीजको आतिथ्यतामा हुने सम्मेलनलाई व्यवस्थित र प्रभावकारी बनाउन तयारीका कामलाई तीव्रता दिइएको पकुवालले बताए। सम्मेलनले जेसीज अभियानलाई थप ऊर्जा प्रदान गर्नुका साथै स्थानीय स्तरमा समेत सकारात्मक र रचनात्मक प्रभाव पार्ने आयोजकको विश्वास छ।

Views: 3

प्रतिक्रिया (०)